ऊ डराउँछ
ऊ आगोले
जलेझैं जल्छ
ऊ चाहन्छ
मेरो घरको आँगन
अँध्यारोले छाओस्
ऊ मेरो घरमा
घामको रोशनी देख्न चाहँदैन
ऊ मेरो बाटो
ढुंगा र काँडाले सजाउन चाहन्छ
ऊ मेरोअघि
खाल्टो खन्न चाहन्छ

ऊ डराउँछ
ऊ आगोले
जलेझैं जल्छ
ऊ मेरो पाइला
रोक्न चाहन्छ
ऊ मेरो
अघि बढ्दै गरेको पाइला देख्दै
आफ्नो छाती जलाउँछ
मैले पसिना र रगतले
लेखेको आफ्नो नाम
ऊ आफ्नो रिस र जलनले
मेटाउन चाहन्छ
ऊ रिसाउँछ
ऊ मेरो घरमा
बलिरहेको दीयो
निभाउन चाहन्छ

ऊ मेरो पछाडि
मेरै कुरा काट्छ
ऊ मेरो पछाडि
चक्कु प्रहार गर्न चाहन्छ
ऊ मेरो गुण देख्दैन
ऊ मेरो अगुणको मात्र
चर्चा गरी हिँड्छ
ऊ डराउँछ
ऊ आगोले
जलेझैँ जल्छ ।

 

(डुवर्स, भारत)