‑ मैले नियालें तिम्रो आँखाको नानीमा
तिमीले नियाल्यौ मेरो आँखाको नानीमा
नानीको गहिराईमा आफ्नै छायाँ भेटेँ
जलिजाने
माटो बन्ने
धुवाँ बन्ने
कस्तोकस्तो जाली काया भेटेँ ।

 

‑वैंशको भेल सबै तिमीमा पोखेर
सृष्टिक्रममा भूमिका खेलेर
मैले तिम्रो आँखामा नियालें
तिमीले मेरो आँखामा नियाल्यौ
आँखाको अटल गहिराईमा शून्यताको माया पाएँ
फेरि जन्म लिई तिम्रै हुने चाह पाएँ
वासनाको भेल हो
इच्छ्याहरूको जेल हो
जीवन सम्पूर्ण झेल हो
चक्रव्यूहमै आत्माहरू भट्किरहने
सृष्टिको क्रम चलिरहने
शून्यबाट शून्यमै हराइरहने
तिम्रो मेरो जीवन मायाको खेल हो ।

 

पशुपति देउपाटन, पाचाटोल