आदर्शको पसल थापेर,
तिमीले बेचेका नैतिकता,
अपराधीका हात हातमा छन्

राजनीतिको पसल थापेर,
तिमीले बेचेका सपना,
माफियाका पाइला पाइलामा छन्

हिजो नेपाली जनतालाई भर्याङ बनाएर,
तिमी चढेको सिद्धान्तको घरमा,
आज दलालहरूको लिफ्टमा तिम्रो सवारी छ

तिमीले विचारलाई ढाल बनाएर,
आफ्नो कर्तुत छोपिरहेछौ तर,
तिम्रा व्यवहारले तिमीलाई निर्वस्त्र बनाएको छ

तिम्रो दर्शनमा परेका प्वालहरूबाट,
जनताले चियाउँदै भनिरहेका छन्
गणतन्त्र नेपालका छोटे राजाहरू, छोटे डनहरू ।