मनुष्य देहको अनमोल जीवनलाई
अग्निकुण्डमा विसर्जित गरेर
प्रेम ! तिमीले किन मृत्यु रोज्यौ?
मानवताका मुटुहरूमा
संवेदनहीनताको कैँची चलिरहेको
यो कठोर समयमा
भुइँमान्छेहरुका झुपडीमा आगो दन्काएर
दलाल र बिचौलियाको हाटबजार
सर्वत्र मौलाएको यो निर्मम समयमा
प्रेम! तिमीले किन मृत्यु रोज्यौ ?
जतिबेला तिम्रो शरीरमाथि
आगोको साम्राज्य सल्किरहेको थियो
जतिबेला राज्यशक्तिको आँगनमै
तिमीले आफ्नै देहमाथि
विद्रोहको चिराग बाल्दै थियौ
जतिबेला आगोको लप्का पिएर
असैह्य वेदना र अनन्त पीडामा
तिमी छटपटाउँदै थियौ
ठीक त्यति नै बेला
सभ्यता नै लजाउने गरी
अविरल चलिरहेका थिए
तिमीले तिरेको करमा
चिल्ला र महङ्गा गाडीहरू
अविरल कुदिरहेका थिए
मानिसका यात्राहरू
विवेक मरिसकेको
यो क्रुर सहरमा
प्रेम! तिमीले किन मृत्यु रोज्यौ?
सयौँ विकृतिको अभियोगपत्र लेखेर
राज्यसत्तालाई नालिस दिन सक्ने तिमी
समस्याका पहाडमाथि बसेर
समाधानको दृष्टिसमेत दिने तिमी
आगोको भाषा नबुझ्ने
यो चट्टानी सहरमा
प्रेम ! तिमीले किन मृत्यु रोज्यौ ?
तिम्रो विराट उद्यमी मानसिकता
तिम्रो त्यो उच्च महत्त्वाकांक्षा
राष्ट्रप्रेमको रसले भरिएको
त्यो जिम्मेवार छातीभित्र
जीवनका रङ्गीन सपनाहरू
साहसले भर्नुपर्ने तिमीले
आँशुहरूको कुनै मूल्य नदिने
यो कठोर सहरमा
तिमीले किन मृत्यु रोज्यौ?
तिम्रा हरेक शब्दहरू
सत्यका हिमाल हुन्
तिम्रा हरेक चित्कार
आम नेपालीका दैनिकी हुन्
तिमीले देखेको समाधान
समृद्ध नेपालको नक्सा हो
समाज ध्वस्त पार्ने
किर्नाहरूलाई नजिकबाट छामेका तिमी
अनेकौं विकृतिको साक्षी बनेर
विद्रोहको आगो ओकल्नुपर्ने
तिमीले किन मृत्यु रोज्यौ?
जीवनका सहस्र सुन्दरतामा
सम्भावनाको विराटता खोज्नुपर्ने
विद्रोहका गर्जनहरूमा
बमका छर्राहरू भर्नुपर्ने तिमी
आफैँ सल्किएर गयौ
आफैँलाई जलाएर गयौ
तर आफू रित्तिँदा पनि
देश भर्न खोज्ने
आफू जलिरहँदा पनि
देशको भलो चिताउने
प्रेम तिमीले किन मृत्यु रोज्यौ ?