छद्म भेषमा पद्म आसन
शासनको बलमा गरिबको रासन
फाड्दै डब्बु डब्बुमा आफ्ना कब्बुहरूलाई
उचाल्दै, पछार्दै डिभाइड एन्ड रुलको स्केलमा
पर्सनल डिजाइन विथ डिभोलुसन गर्दै
अबुझ चाप्लुसी पल्केकाहरूलाई हड्डी फ्याँकेर भुलाँउछु म
मनगढन्ते दृष्टिविहीन धृष्टताको ताँदो चढाउँछु म

फुस्फुसे, सुलबुले कन्याउन आवश्यक पर्नेहरू
धमिरा नलागी बोलीले गोलीझैँ गलेर झर्नेहरू
पात पातमा बातको धुजा कस्दै रिसका मुजा
थाङ्नामा सुत्ने कोतवालका डाम्ना
पलपलका याद बगलका आई तोरी मुहार रोप्दै
जिउँदै मर्ने, मरी जिउने व्यग्र चाल हुनेहरूको
मनगढन्ते दृष्टिविहीन धृष्टताको ताँदो चढाउँछु म

बत्ती तल अँध्यारो देखे, नदेखेसरी
चाउचाउ, चियाको चुस्कीमा चमेलीको तेल चम्काउँदै
फूल फूलको रसपान गर्दै बाग-बाग डुल्ने भ्रमर बनी
तैँ चुप, मैँ चुपको घोषणापत्रमा सहमति छप्काउँदै
निर्लज्ज शहरमा गल्ती बाफत सम्मानित हुनेहरूमा
जिउँदै मर्ने, मरी जिउने व्यग्र चाल हुनेहरूको
मनगढन्ते दृष्टिविहीन धृष्टताको ताँदो चढाउँछु म

चहलपहलको भुमरीमा ‘सस्टेनेबल डेभलपमेण्ट’
प्रहर प्रहरमा ‘क्रस कटिङ इस्यु’को टार्गेटेड स्ट्राटेजी बनाउँदै
न्यु ट्रेन्ड्सको अद्यावधिकतामा पौडँदै दौड्दै कमिटमेन्ट रिफ्रेस गर्दै
जीवनको पूर्ण आनन्द लिई ब्रह्मानन्द खोज्न
अबुझ चाप्लुसी पल्केकाहरूलाई हड्डी फ्याँकेर भुलाउँछु म
मनगढन्ते दृष्टिविहीन धृष्टताको ताँदो चढाउँछु म

उत्पादन गलत होइन, प्रोडक्ट फ्रेम गलत
विज्ञान गलत होइन, अपव्याख्या गलत
शास्त्र गलत होइन, शास्त्रीय व्याख्या गलत भन्दै
म कहाँ गलत हो र ? “म” गलतलाई सही बनाउने पो गलत
मलाई पटक पटक गल्ती गर्न अवसर दिएकै कारण
शिरैमाथि आसनसँगै चाप, ताप र राफले दबाई यात्रा बढाँउछु म
अबुझ चाप्लुसी पल्केकाहरूलाई हड्डी फ्याँक्दै भुलाउँछु म
मनगढन्ते दृष्टिविहीन धृष्टताको ताँदो चढाउँछु म

रफ्फु चक्करको नजरमा भगवान् नै ठहर्छु
काम खोजी दाम, दामसँगै माम दिई बटार्छु
परिवेशको होइन, याचक बनी आफैँ दर्शनभेटमा
धाइरहेकाहरूलाई कृष्णको विराट स्वरुपझैँ दर्शन दिनुपर्दा
मौकामा लौका खोज्दै प्रगतिपथमा लम्किन बाध्यताले
अबुझ चाप्लुसी पल्केकाहरूलाई हड्डी फ्याँकेर भुलाँउछु म
मनगढन्ते दृष्टिविहीन धृष्टताको ताँदो चढाउँछु म ।

 

भी. न. पा.-३, कन्चनपुर