म समुद्रको गहिराइसम्म पुग्छु
उनीहरू मलाई सतहमा खोज्छन्
र सतही योजना बुन्छन्
म खस्रो खाक्सीजस्तै निर्दयी हुन्छु
उनीहरू आदर्शका कुरा गर्छन्
र उनीहरू भन्छन् तिमी नौनी हुनुपर्छ

म विचारको खेती गर्छु
रोप्छु गोड्छु विचार फुलाउँछु
मान्छेहरू ईर्ष्याका तानाबाना बुन्छन्
र अगाडि बढेका खुट्टा तान्छन्
म आफूमा आत्मभरोसा राख्छु
र उनीहरू भन्छन् भन्छन्
उनीहरू भन्छन् मेरो इशारामा चल्नुपर्छ

जब म हावा बनी उडेको हुन्छु
म आफ्ना विचार तरङ्गित गरेको हुन्छु
पहाडसँगको पौँठेजोरी सम्हालिरहेको हुन्छु
मान्छेहरू मेरा तेज नाप्छन्
र एउटा सतही विचार बनाउँछन्
चैत मासको खडेरीमा मलाई
र उनीहरू मलाई भन्छन्
असारे भेलजस्तै हुनुपर्छ

उनीहरूले भने जस्तै
फेरेर पहिचान आफूलाई
म सतहमा पुगेँ भने
के मेरा सुकेका हाँगा पलाउलान्
म नौनीझैँ नरम पनि हुँला
नौनी बनी आगोको राप सहुँला
म थोपा थोपाबाट सागर बनुँला
तर उनीहरू वर्षायामका बर्बरता सहलान् ?

अहँ, मलाई विश्वास छैन
उनीहरू मेराउपर कुरा गर्ने छैन
मेरो नौनिलो नरमता मन उनीहरूले
आगोले खार्नेछन् म तरल हुनेछु
म थोपाबाट सागर हुँदा
गाउँ बस्ती डुबाएको निहुँमा
मलाई तार-जाली गरी साँघुर्याउने छन्

म अँध्यारो कालरात्रिमा
शितलताको जून खोजिरहेको छु
म हिलाम्य त्यो पोखरीमा
फुलिरहेको कमल खोजिरहेको छु
त्यही कालरात्री र प्रभात फेरीमा
काँडाबीच गुलाब खोजिरहेको छु
तर समाज मलाई मन्द विष बनाइरहेछ

अतः
म एकान्तमा सोच्ने गर्दछु
मेरो विचारको गहिराई पुरिने त हैन
मेरो अस्तित्व मेटिने त होइन
आज पलपल यतिमै म सीमित छु
त्यसैले मलाई एक्लोपन मन पर्छ
निर्जन एकान्तमा रम्न मन पर्छ।