उनलाई त मैले कहिल्यै प्रेम गरिनँ
उनको अनुहारले, रुपले, शरीरले
अहँ मलाई कहिल्यै आकर्षित गरेन

उनी नराम्री भएर होइन
होची या फु गर्दा ढल्ने भएर होइन
उनी अत्यन्तै काली भएर पनि होइन

तर मैले उनलाई छोडेर
उनैलाई प्रेम गरेँ
मेरो प्रेममा लामो नागबेली चुल्ठो
बारुले कम्मर
गुराँसे रङको लाली चड्ने अधर
सबै फिका भए

मेरो आशक्तिको सीमा कति छ
उनलाई थाहा छ छैन
मलाई मात्र थाहा छ
म कति उनलाई कदर गर्छु
सायदै उनलाई थाहा नहुँदो हो
मेरो प्रेम च्यात्तिएको प्रेमपत्रको
टुक्रा थियो या खाली अक्षरको थुप्रो
उनले सायदै थाहा नपाएकी हुन् ।

म उनलाई देवी भन्दिनँ
दासी पनि ठान्दिनँ
उनी यौटी नारी हुन् बस्, यति नै मान्छु
मेरी स्वःकहलित प्रेमिका होइनन्
उनी
मैले मन पराएकी नारी हुन् ।

उनी लेख्छिन् – खरो विचार
प्रस्तुत गर्छिन् – गम्भीर मुद्दा
उनी महिलालाई यो समाजले हेर्ने दृष्टिकोणमा
फरक ल्याउन खोज्छिन्
उनी तातो आगो हुन्
सारा विभेदहरू, सारा क्रुर हेजिमोनीहरू
उनीसम्म आए पनि जलेर खरानी हुन्छन्

मलाई थाहा छ
नारीमा चेतना बढ्यो भने
कहीँ दुर्घटना घट्दैन
नारीको कहीँ दुरुपयोग हुँदैन
सभ्य समाजको हिमायती नै
उनीजस्तै प्रखर नारी हुन्

म उनलाई छाडेर
उनको महान् विचारलाई प्रेम गर्छु
उनका चेतन मनका ओछ्यानहरूमा निदाउँछु
उनी फूल होइनन्, बारुद हुन्
उनी त मेरो सोचाइको रङ्गमञ्चकी बाउमार दि विमोर हुन्
रोजा लक्जेम्बर्ग र झाँसी की रानी हुन्
म उनको भावनालाई सम्मान गर्छु
म उनको तन होइन
उनको निर्भिक विचारलाई प्रेम गर्छु ।

 

दमक बजार, झापा
हाल – अबुधाबी, युएई ।