माया
एक दिनको कुरा होइन
हर दिन
हर क्षण
हर पलको कुरा हो
यसैमा उनिएर
बुनिएर
बसेका छन् मनहरू
चलेको छ संसार
उडेका छन् चराहरू ।

खुशीको आभा यो
पुलकित हुँदै मन
पूर्णताको खोजीमा भौतारिन्छ
आफू र आफ्नोको मिलनमा
भेट्छ सार्थकता
अनि
सीमितताबीच असीमित प्रसन्नता बोकेर
बित्छन् दिनहरू

जीवनहरू ।

सम्पन्नता भन्नु नै
सानिध्यता हो
आत्मियता हो
हार्दिकता हो
अपनत्व हो
मायाको तत्व हो
त्यही फुल्छ जीवन
त्यही फक्रिन्छन् मन
प्रसन्न देखिन्छ संसार
जहाँ सदा
बाचाका साथ
आफू आफैमा हराउँछन्
भ्यालेन्टाइन
यसरी नै
यसै गरी नै
जीवनभरि नै… !!!