ओ राम्री मान्छे
तिम्रो सिउँदोको कसम
तिम्रो सिन्दुरको रङभन्दा गाढा भएर
यो छातीमा बस्यो तिम्रो प्रेम
तिम्रो सिउँदो रङ्गिनुभन्दा पहिल्यै
तिमीसँग भेट भइदिएको भए
के जान्थ्यो ?

लेखिदिनेले पनि सायद
तिम्रो निधारको कुनै कुनामा
नदेखिने गरी सानो अक्षरले
मेरो नाम लेखिदिएको हुनुपर्छ
हैन भने
“तिमीलाई प्रेम गर्छु”
भन्न पनि नमिल्ने अवस्थामा
हाम्रो भेट किन भयो ?

कि त
कुनै जन्ममा अधुरो रहेको प्रेम
पूरा गराउन यो जन्ममा
भेट भएको हुन सक्छ
कि त
कुनै जन्ममा मैले गरेको
गल्तीको सजाय दिन
तिमी अर्कैको भइसकेपछि
भेट गराएको पनि हुनसक्छ

यस्तो बेलामा भेट भएको छ
न त मेरो हो भन्न मिल्छ
न त अरुको भएकोमा स्वीकार छ
घरिघरि त लाग्छ
सिन्दुरमाथि सिन्दुर थपिदिऊँ
र झन् गाढा बनाइदिऊँ
तिम्रो सिउँदो
आखिर एउटै सिन्दुरको भरमा
जीवन सकिनु पर्छ
यो जरुरी कहाँ लेखिएको छ ?

सुमधुर सम्बन्धमा
हरेक कुराले अनुमति खोज्छ
कि त मौन समर्थन
म त्यस्तै केही खोजिरहेको छु
तिमीसम्म पुग्न

तिमी एक चिम्टी सिन्दुरको
लक्ष्मण रेखाभित्र छौ
म बाहिर बसेर
प्रेमको भिख मागिरहेको छु
यदि कुनै दिन
सिन्दुरको घेरा तोड्ने आँट
तिमीमा पलायो भने
मलाई भन्नु
म यो समाजको
सारा बन्धन तोड्न तयार छु
र रङ्ग्याइदिनेछु तिम्रो सिउँदो

हिजोसम्म तिमी
जोसँग निदाए पनि
जोसँग बिउँझिए पनि
घाम उदाउनु र अस्ताउनु जस्तै
सामान्य थियो मेरा लागि
आजकल
तिम्रो हरेक पाइलामा
मेरो पैताला जोडियोस् जस्तो लाग्छ

आजभोलि त म राशीफल पनि
तिमीलाई हेरेपछि मात्रै हेर्छु
यस्तो लाग्छ मेरो भाग्य
तिम्रै अनुहारमा लेखिएको छ

बहाना नै सही
तिम्रो टाउको दुख्नु
मैले मालिस गरिदिनु
तिमीले पनि
निको भएको अभिनय गर्नु
सम्झ त !
कस्तो रमाइलो हुन्थ्यो होला ?
अचेल यही सोचीसोची
म निदाउनै छोडिसकेँ

कहिलेकाहीँ त
तिम्रै सिन्दुरले पनि
मन दुखाउँदो हो
बेस्सरी मन दुखेको बेला
लाग्दो हो
पखालिदिऊँ सिउँदो
त्यही पखालिएको सिउँदो
रङ्ग्याउन मन छ

धेरै भए पागल भन्लान्
लाज पचेको लबस्तरो भन्लान्
मति सकिएको मतिभ्रष्ट भन्लान्
प्रेम र युद्धमा
सबथोक जायज हुन्छ भनेर कसले भन्यो ?
यो गाली उसैलाई गएर सुनाइदिनु
म त उसको
अनुयायी मात्र हुँ

ओ राम्री मान्छे !
तिम्रो सिउँदोको कसम
तिम्रो सिन्दुरको रङभन्दा गाढा भएर
यो छातीमा बस्यो तिम्रो प्रेम
तिम्रो सिउँदो रङ्गिनुभन्दा पहिल्यै
तिमीसँग भेट भइदिएको भए
के जान्थ्यो ?

 

युएई