मलाई थाहा छ
सदा जसरी
आज पनि तिमीले
फेरि एउटा रातो गुलाफ र
गुलाफी कागजको टुक्रामा
लेखिएका प्रेमिल शब्दहरू
मीठो मुस्कानका साथ
मेरो हातमा राखिदिने छौ
मेरा गालाहरू राता हुने छन्
मन बैंसालु भएर सुसेली हाल्ने छ
र म एकैछिनमा पुग्नेछु अतीतमा
र विलीन हुने छु तरुण कल्पनामा
जुनबेला हाम्रो पहिलो ‘भ्यालेन्टाइन्स डे’ थियो

त्यसो त, प्रिय !
तिम्रो हरेक उपस्थिति र सामीप्य नै
मेरा लागि उत्सव हो
तिम्रा हरेक मीठो बोली नै
मेरा लागि उपहार हो
स्निग्धता र प्रेमिल भाव
उजागर गर्ने सुवास हो

खुलेको आकाश र शीतल धरामा
मनै हर्ने पवन झुमिरहेको बेला
तिमीले आजैको दिन रोजेका छौ
र, केवल मलाई नै
बारबार भनिरहेका छौ, “तिमी मेरी सिन्योरिटा”

हेर त प्रिय !
बाहिर
बगैँचा खाली छ
धर्ति उजाड छ
रूखहरू नाङ्गा छन्
तर तिम्रो हातको रातो गुलाफले
मेरो प्रेम–बगैँचामा वसन्त छाएको छ
लागिरहेछ
मैले जीवनभरका लागि रङ पाएकी छु

आज फेब्रुअरी १४ तारिख
बाहिर जाडो पनि छ
हिउँका थुप्राहरूले
धर्ती चिसिएको छ
तर प्रिय ! तिम्रो निर्मल, निर्बाध साथले
सेतो हिउँ पनि
कपासझैँ न्यानो भएको छ मलाई
त्यसैले तिम्रा लागि
यी प्रेमिल शब्द लेख्दै
गुन्गुनाउँदै
हृदयको अथाह द्वार खोलेकी छु–
‘ह्यापी भ्यालेन्टाइन डे’ प्रिय ।
०००

(क्यान्सस, अमेरिका)