तिलकराम पोखरेल

आमाले सानामा
सुनाउने कथाकी पात्र
एकदम मन पर्थ्यो मलाई
भेट्ने रहरमा हुर्किदैँ आएँ

बाबाले सुनाउने
गीतभित्रको क्षितिजमा
रमाउने आशाले
फुर्कदैँ गएँ
एकदिन खोज्छु पक्का भन्दै

विद्वानका उपमाहरूले
नाति फकाउने हजुरआमाको
स्वरचित वाक्यहरूमा
सपनाको रङ् पोत्दै
खेल्ने गर्थेँ वर्तमानमा

मर्न सजिलो छ
बाँच्न त गाह्रो भन्ने
छिमेकी ठाइँलाको
त्यो उक्ति सुन्दासुन्दा
जवानीलाई घिसार्दै ल्याएँ र
परदेशलाई सुम्पिदिएँ

आज विश्व कारागारमा छ
संसार दिउँसै अन्धकार खाँदै
विलाप गरिरहेको छ

विलासको लालसले
घचेटिएको मसँग
चिट्ठी आउँछ

यहाँ सबै ठीकै छ
भकारीमा धान छ
बारीमा सब्जी छ
नदीमा पानी छ

त्यसपछि तेरो चिन्ता छ
यहाँ हामीलाई डढाउने
दाउरा प्रशस्तै छ
तर दाग दिने तँ छैनस्
दुधालु गाई छ
अन्तिम सासमा पिलाउने
तँ छैनस्
खेतको लेखाजोखा सबै
तेरो नाममा गरिदियौँ
औँलाको छाप हान्ने
तँ छैनस्

बरू फर्केर आइज
महल नभए नि घर छ
तेरो पिरले बाँच्नु
विष खाएर छट्पटाएको
अवस्थामा छौँ यहाँ
व्यथामा छैँ हामी

चिट्ठीमा आमाको नाम देखेँ
त्यहाँ परी बसेकी थिई
चिट्ठीको छातीमा
बाबाको क्षितिज देखेँ
त्यसका शब्दमा
हजुरआमाको आँसु देखेँ
र ठाइँलाको आवाज पनि भेटेँ

सबै त्यहाँ छोडेर
यहाँ के गर्दैछु म ???

घर धर्तीको स्वर्ग रहेछ
पछुताउने मौका पाएँ
म पछुताउने मौका पाएँ