
प्रिय चे
मैले बुझेको कम्युनिस्टहरूको
न जात हुन्छ, न त कुनै भूगोल
न कुनै भाषा हुन्छ, न कुनै धर्म
र आज म अनुभुति गरिरहेछु
प्रेमको न कुनै परिभाषा हुन्छ
न कुनै सिमाना र परिधि
युगौँ पहिले जन्मिएका तिमी
जन्मिएको भूगोलमा मात्रै अट्न सकेनौ
किनकि तिम्रो विशाल हृदयलाई
कुनै भौगोलिक सिमानाले छेक्न सकेन
तिम्रो मानव प्रतिको निःस्वार्थ कञ्चन प्रेमलाई
खोक्रो राष्ट्रवादको चौघेराले बाँध्न सकेन
तिमी त न्याय र स्वतन्त्रतालाई औधि प्रेम गर्ने मान्छे
संसारको सम्भ्रान्त वर्गले कुरुप देख्ने श्रमजीवी वर्गलाई
आफ्नो जात, धर्म र आफन्त सम्झिने मान्छे
तिमीले साँघुरो गल्लीमा बसेर नापेनौ कुनै भूगोलको सिमाना
जहाँ तिम्रो घर थिएन, तिम्रो जन्म थिएन
र पनि प्राण उत्सर्ग गरिदियौ
तिनै प्रिय मान्छेहरूका लागि
तिमीले बन्न चाहेनौ केवल एक बिरामीको डाक्टर
तिमीले छाम्यौ सिङ्गो चिसिएको विश्वको मुटु
त्यसैले त आज यो मुटुमा तिमी छौ
यो मस्तिष्कमा तिम्रो प्रतिबिम्ब छ
मैले महसुस गरेको प्रेमको घेरा साँघुरो रहेन
तिमी नभएको संसारमा युगौँपछि जन्मिएर
म तिमीलाई प्रेम गरिरहेछु
जीवनका हरेक पदचापमा तिमीलाई खोजिरहेछु
पछ्याइरहेछु
ओ प्रिय चे ग्वेभारा !!

यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

