हिन्न मात्र जानेर हुँदैन
चिन्न पनि जान्नुपर्छ
कुनबेला कस्को हो- सडक !

सडकले छुट्याउँदैन,
छुट्याउने हामीले हो- सडक
भन्दा सबैको हो भने पनि
पहिला मौसुफहरूको हो- सडक
हुनेखानेहरुको हो- सडक
बलिया बाङ्गाहरुको हो- सडक
गुण्डाहरुको हो- सडक
पेसेवरहरुको हो- सडक !

सडक जिउँदो हुँदासम्म
उहाँहरूका मलामी ननिस्किँदासम्म
उहाँहरूकै मात्र हो- सडक !
सडक मरिसकेपछि
बल्ल तिम्रो हो- सडक
बल्ल हाम्रो हो- सडक!

सडक मौसुफको लागि लम्पसार सुतेको बेला
त्यसमाथि ठमठम हिँड्ने- को हौ तिमी?
लौ ! तिमी डाक्टरै रहेछौ
अस्पताल हिँडेका रहेछौ
पालो पर्खनु पर्दैन तिमीले?
लौ ! इमर्जेन्सीमा कुरिरहेका होलान्
एकछिन अरु कुर्न सक्दैन- बिरामी?
हतार छ यहाँ देश हाँकेर
सिङ्गापुर अनि स्विट्जरल्याण्ड पुर्याउन
हतार के छ – बिरामीलाई ?

के फरक पर्छ-
तुरुन्तै तिमी अस्पताल नपुग्दा ?
के सिद्धिन्छ-
तिमीले समयमा बिरामी नभेट्दा ?
सिद्धिए सिद्धिएला त्यही बिरामी
देशलाई चाहिएको बिरामी हो ?
सिद्धिन देऊ न !
अनि पो स्वस्थ हुन्छ- देश
‘मौसुफहरुको- देश’ !

सलाम खानुपर्छ मौसुफले,
बिरामीले औषधी खानुभन्दा पहिले
पाइखाना जानुपर्छ मौसुफले,
डाक्टर अस्पताल जानुभन्दा पहिले
ए ! पख… पख… पख…
वारि हुनेले वारि रोकिनुपर्छ,
पारि हुनेले पारि
पछि हो सडक तिम्रो र हाम्रो,
पहिला मौसुफको सवारी !

(कोपनहेगन, डेनमार्क)