“तिमी बोलेर नथाक्ने रैछौ”,
के भनेको थिएँ,
उनले जुरूक्क उठेर
मकै भुट्न थालिन्

उनको भाषणजस्तै,
हाँडीमा
मकै पटटट पटटट पड्के
बुरूक्क बुरूक्क मकैका फुलाहरू
एक एक गर्दै भूईँभरि छरिए
केवल बाँकी रहे
‘म जस्तै ठेट्नाहरू’
उनको भाषामा !

तातो लाएपछि
फुलाहरु त उफ्रिएरै सकिने रहेछन्,
हाँडीभित्र बाँकी रहने त
ठेट्नाहरू मात्रै रैछन् नि यो संसारमा,
न ह्वात्तै फाल्न सकिने, न सजिलै चपाउन!