मेरो घर वरिपरि रहेका
पर्खालका तार-बार नाघ्यौ
सुनसान छ आँगन
आखिर! घर-बार छाड्यौं
अन्तै माया लाएछौ कुन्नी
तिमी कता भाग्यौ ?
प्रिया !

बाँधेको थेँ मायाको धागोले तिम्लाई
तर, तिमी त्यै धागोको
गाँठो बनिगयौ
राखेको थेँ यो ढुकढुकीमा तिम्लाई
तर, तिमी पिँजडा सम्झी
पक्षीझैँ उडी गयौ
प्रिया !

मलाई त सुन भन्थ्यौ
आफ्नो जून भन्थ्यौ
जिन्दगीको सारा सुकुन् भन्थ्यौ
तर आज खै !
कोही निपुण भेट्टायौ कि
अनि त हाम्रो मायालाई
अकस्मात मेटायौ कस
प्रिया !

म त स्थिर समुद्रझैँ थिएँ
तिमी हावाको त्यो वेग भयौ
यो जिन्दगीमा रोदनको छाल ल्याइगयौ
जिउदो शरीर छ, तर खाल लगिगयौ
सजाएका सब सपना उडाइगयौ
यो सहयात्रामा अल्पविराम लगाइगयौ
प्रिया !

हो ! गयौ, जाऊ, रमाऊ, घरजम जमाऊ
तर बिन्ती ! फेरि फर्की नआऊ
मजस्तै उसको पनि त प्रेम होला
छुट्न सक्छ
मजस्तै उसको पनि त दिल होला
टुट्न सक्छ
मजस्तै उसको पनि त आँशु होला
सुक्न सक्छ
मजस्तै उसको पनि त सपना होला
चकनाचुर हुनसक्छ
हो ! त्यसैले उसैको हात समाऊ, रमाऊ
तर बिन्ती ! फेरि फर्की नआऊ
प्रिया !

म त अझ भमराझैँ छु
तिमी चुडिएको त्यो फूल भयौ
तिम्रो आभास पाउन
त्यो मिठास पाउन
सायद ! खोजिरहनेछु
मेरा बन्द आखाँभित्रको
त्यो दृश्यमा सम्झिरहनेछु
मन-मस्तिष्कमा राखिरहनेछु
प्रिया !