
आकाश गिरि
मोनालिसा
आऊ तिमी र म यस्तो प्रेम गरौँ
जहाँ
प्रेमले पर्खाइलाई प्रेम गर्नु परोस्
पर्खाइले प्रेमलाई पर्खनु परोस्
बरु त्यो प्रेममा पर्खाइको
दूरी त्यतिसम्म होस् कि
तिमी मलाई नपर्खनु
म तिम्लाई नपर्खुँला
पर्खाइले हामीलाई नपर्खियोस्
हामीले पर्खाइलाई नपर्खौँला
दुवैले दुवैलाई
पर पर छाडी
कसैले कसैलाई
नपर्खौँला
तर
मजबुरी यतिसम्म होस् कि
तिम्ले मलाई प्रेम गर्नु परोस्
मैले तिम्लाई प्रेम गर्नु परोस्
प्रेमले हामीलाई प्रेम गर्नु परोस्
हामीले प्रेमलाई प्रेम गरौँला
कसैले कसैलाई
पर पर नछाडी
दुवैले दुवैलाई
प्रेम गरौँला
आऊ तिमी र म त्यस्तो प्रेम गरौँ
हामीले हामीलाई प्रेम गर्न
प्रेमलाई पर्खनु परोस्
हामीले हामीलाई पर्खिन
पर्खाइलाई प्रेम गर्नु परोस्
प्रेम हुँदा पर्खिएझैँ लागोस्
पर्खिँदा प्रेम भएझैँ लागोस्
आऊ तिमी र म त्यस्तो प्रेम गरौँ
पर्खाइको गुनासो
प्रेमको हाँसो होस्
प्रेमको गुनासो
पर्खाइको हाँसो होस्
पर्खाइको नासो
प्रेमको चासो होस्
प्रेमको नासो
पर्खाइको चासो होस्
यो प्रेम र पर्खाइको सम्बन्ध यस्तो होस्
जस्तो कि
खुट्टासँग जुत्ताको सम्बन्ध
स्ट्रङ एस्ट्रेसँग ठुटाको सम्बन्ध
जस्तो कि
यतासँग उताको सम्बन्ध
उतासँग यताको सम्बन्ध
आऊ तिमी र म त्यस्तो प्रेम गरौँ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

