न पीर फुकाउने ठाउँ छ
न शीर झुकाउने ठाउँ छ
न यो दिलभित्र तिम्रो-
तस्वीर लुकाउने ठाउँ छ।
X
मनलाई रोकेँ खारेँ गालेँ
उनलाई पनि मुद्दा हालेँ
आखिर दोषी आँखा रैछन्
व्यर्थै यस्तो कदम चालेँ।
X
उल्टो देख्ने पनि जवानी रहेछ
भीरमा टेक्ने पनि जवानी रहेछ
बल्ल यसबेला आएर होस पाइयो
बाटो छेक्ने पनि जवानी रहेछ।
X
यदि म स्वप्न भैदिएको भए
निद्राभरि उनीसँग जिस्कने थिएँ
गाजलु परेलीबाट सुटुक्क प्रवेश गरी
बिहानीको मुस्कानसँगै निस्कने थिएँ।
X
माया त लाएको जस्तो हुनुपर्‍यो
वसन्त बहार आएको जस्तो हुनुपर्‍यो
असिना परेर बिलाएजस्तो माया के माया?
माया त शराब खाएजस्तो हुनुपर्‍यो।
X
कति समय अहोरात्र जागेँ
गायत्री साधनातिर पनि लागेँ
तिमीलाई देख्न के मात्र गरिनँ प्रिय?
भगमानसँग दिव्यदृष्टिसमेत मागेँ।

पोखरा-१०,
हालः संयुक्त राज्य अमेरिका