मौन युद्ध
आफैँभित्रको युद्ध
सबभन्दा खतरनाक हुन्छ

खुकुरी, खुँडाविना
तरवार, बन्दुकविना
विनाकुनै हातहतियारको युद्ध
मौन युद्ध
खतरनाक हुन्छ

आँधीहुरी
सुनामी निल्न सक्ने
आकाश च्यातेर
घाम–जून टुक्राटुक्रा पार्न सक्ने
समुद्रमा ज्वाला ओकल्न सक्ने
मौनताभित्रका
मौन युद्ध–धारहरू
खतरनाक हुन्छन् ।

हुर्रहुर्र नबली खाक बनाउन सक्ने
धुवाँ–धुवाँमा
आँसु जमाएर
सिङ्गै पहाड उभिन सक्ने
बतासको बाटो छेक्न सक्ने
मौन युद्ध
खतरनाक हुन्छ

आँखाको सुन्दर संसार
ध्वस्त पार्न सक्ने
नक्षत्रहरू टेकी
हृदयको ब्रह्माण्डमा
ताण्डव गर्न सक्ने
मौन युद्ध
खतरनाक हुन्छ

दर्सिन ढुङ्गा घोटेर
राँको बालेर
नजितेका बस्तीहरू
उजाड बनाउन सक्ने
ठिही टिपेर
राप ताप्न सक्ने
मौन युद्ध
खतरनाक हुन्छ

फूलले रेटेर
इन्द्रेणी खसाल्न सक्ने
काँडाहरूको अस्तित्वमा कुची चोपेर
शून्यता रंग्याउन सक्ने
मौन युद्ध
खतरनाक हुन्छ

मौनयुद्ध
आफैँभित्रको युद्ध
सबभन्दा खतरानक हुन्छ ।