हिजो
आफ्नाहरूका लागि म थिएँ र त मेरालागि आफन्त थिए
हेर्नेहरूका लागि सुन्दर दृश्य थिएँ र त आफैँमा ज्वलन्त थिएँ
आज
धिप धिप निभ्न लागेको दियोको ज्वालाले मेरै सिको गरेजस्तो लाग्छ
प्वाँख झरेको बबुरोलाई निष्ठुरी पिँजडाले त स्वीकार्दो रहेनछ
म त बगरले पन्छाएको थुप्रो न हुँ
आज आफ्नै रगतको डल्लोको खल्लो वचनले जिउँदै मरेजस्तो लाग्छ
तान्दै आएको सासमा निस्केको ऊर्जा
फ्याँक्दै गरेको सासबाट निख्रँदै गरेजस्तो लाग्छ

मैले यिनै पाखुरा बजारेर मेरा सन्तानका शीर बज्रन नदिएको अझै याद छ मलाई
आज
आफैँले बजाएको तालीको खस्रो आवाजले पनि आफैँलाई गाली गरेजस्तो लाग्छ
छातिभित्र ढुकढुक गर्ने मुटुको डल्लो पनि आत्तिएर फुत्त छाला बाहिर सरेजस्तो लाग्छ

हिजो
रहरलाई बाध्यताको थैलीमा पोको पारी सन्तानकै आश्रयका लागि महल सजाउने म
आज
आफ्ना लागि आश्रय नै आश्रमतिर सरेजस्तो लाग्छ
आश्रय नै आश्रमतिर सरेजस्तो लाग्छ

भीमसेनथापा -4,गोर्खा
हालः दक्षिण कोरिया