अमेजनबाट उडेर एक हुल चराहरू
कङ्गोको डालीमा पुगेर विश्राम लिन्छन्
कङ्गोको भोक मेट्न ती बचेराहरू अलस्काको हिउँमाथि सुस्ताउँछन्
यताको आस लगेर उता बिसाउँछन्
उताको पराग ल्याएर यता मिसाउँछन्
चराका सपनाहरू त अटाउँदा रहेनछन् एउटै फाँटमा

आकाशमै उडे पनि
भुइँमा नै उफ्रे पनि
बराबरी हेर्छन् ती चराका आँखाहरू
र सरासरी देख्छन् खुसीका दृश्यहरू
उनीहरूका देशको कुनै काँडेसीमा छैन
उनीहरूका धर्मको कुनै अग्निरेखा छैन
ओ अमेजन जंगलका फ्याउराजस्तै मान्छेहरू
आओ छातीमा टाँसौं
ती चारो टिप्न साइबेरिया उड्ने चराका
बादलजस्ता खुसीहरूलाई

पल्लो बगैंचाबाट उडेर पुतलीहरू
वल्लो बगैंचामा बस्छन्
उताको रङ ल्याएर यता मिसाउँछन्
यताको रमझम लगेर उता बिसाउँछन्
पुतलीका रङहरू त समेटिने रहेनछन् एउटै बगैंचामा
ओ मिराकल गार्डेनको फूलमा छिपेका झुसिल्कीरा मान्छेहरू
आओ एक तमास सुनौं
वल्लो फूल पल्लो बोट चहार्दै उड्ने
पुतलीको धड्कनलाई

सगरमाथाले हेरेको एउटै आकाश
काराकोरमले पनि हेर्छ र
आकाशलाई एउटै डल्लो पार्छ
काराकोरमले थामेको आकाश
अन्नपूर्णले पनि देख्छ
र समान दृष्टि हेर्छ
ओ लिलिपुटका मान्छेहरू
आऊ हेरौं सगरमाथाको अग्लो नाम
उन्मुक्त आँखाको दुर्बिनले
र सिकौं उचाइको सभ्यता

रङभन्दा ठूलो पहिचान रगतमा हुँदोरहेछ
न भोकलाई नागरिकता चाहिँदोरहेछ
न दुःखले जात खोज्दोरहेछ
न जिजीविषामा विभेद हुँदोरहेछ

ओ मान्छेहरू
म धर्मका रेखाहरू कोरिनुपर्ने गागजको परिचयमा विश्वास गर्दिनँ
म धर्तीलाई रातो घेराले बाँध्नुपर्ने मानचित्रमा भर पर्दिनँ
कालो र सेतो
उँचो र निचो
लेखेर मान्छेको छातीमा टाँस्नुपर्ने
वर्णमा अर्थ देख्दिनँ
यसरी लेख्नुभन्दा विभाजनका अक्षरहरू
अब किङफिसर वा गौंथलीमात्र किन
आऊ त्यागौं स्वयम् नागरिक वर्ण
र उडौं चराका पखेटारू
एउटै धर्तीको छानोमुन्तिर

मलाई फोटोमा टाँसिएको नागरिक मान्छेभन्दा
खुला हावामा गाँसिएको अनागरिक पुतली हुने रहर छ
कसैले पिँजडामा थुनेको मान्छेभन्दा
धर्तीले दिएको प्वाँखमा उड्ने
अनागरिक गौंथलीमा गौरव छ

त्यसैले आऊ भत्काऊँ अब असमान जञ्जीरहरू
मेटाऊँ विभक्त रक्तरेखाहरू र
बेरोकटोक उडौं चराझैं
उन्मुक्त आकाशमा ।

रचनाकालः २०७९ मंसिर ५