मेरो सानो छोराले देखायो
ऊ मान्छे
किन बाटोको बीचमा उभिइरहेको छ ?
आबुई गाडीले किच्दैन ?
कस्तो हातखुट्टा थरथर कामेको
हेर्नुस्त बाबा ! छोरी चिच्याई
त्यहाँ लड्यो र गाडीले किच्यो भने के हुन्छ ?
हो नि है…?
मैले सोच्न थालेँ
ऊ शक्तिशाली देशको मान्छे
संसारका ठूलाठूला युद्ध गर्न र रोक्न सक्ने क्षमता राख्ने देशको मान्छे
जल, चर, आकाश, अणु‑परमाणुदेखि नयाँ टेक्नोलजीमा
सम्पन्न देशको मान्छे
पैसा, पावर, बल, विकास र बुद्धिले एक्लै मैदानमा हुर्मत लिन
सक्ने देशको मान्छे
विशाल सम्प्रभु सत्ता जमाउने देशको ऊ शक्तिशाली नागरिक
ऊ उभिएको ठाउँ संसार जित्ने नाम हो
ऊ सपनाको देशमा छ
उसको पासपोर्टले संसारमा सम्मान पाउँछ !
उसको देश छिर्न
जति ऋण भिर्न पनि मानिस तयार हुन्छ
त्यहाँ उभिन हजारौँ सपना बुन्नेहरू
ऊ उभिएको देशमा एक पटक उभिन चाहन्छन्
दिन नभनी, रात नभनी कहाँबाट कुन बाटो र कसरी छिर्ने र उभिने भनेर संसारका धनी, विद्वान, बलिया,पद‑पैसा र पावरको दम्भ बोकेका मान्छे तँछाड मछाड गर्दै छिर्नै लालसामा कतिले त जीवनै होमे होमे
कतिको घिडघिडो र लालसा ऊ उभिएको देशमा उभिने छ रहिरहने छ पनि
कयौँले सपना बुन्छन् अमेरिका छिरेपछि डलर कमाउँछन्
डलरको बोट छ ! डलरमा सुत्छन् ! डलरमा उठछन् ! डलरमा चुठ्छन् र डलरै डलरको खेती गर्छन् !
लक्जरी जीवन व्यतित गर्छन् ।
तर…
उसका गोडा लगलग काँपिरहेका छन्
उसले बोकेको प्लेकार्ड उसका दुई हातसँगै लगलग काँपिरहेको अक्षर हेर्ने मैले प्रयत्न गरेँ !
त्यहॅा लेखिएको थियो‑
“आई एम हङ्ग्री एन्ड होमलेस्, प्लिज हेल्प मी !”