आमा
तिम्रा आँखाबाट बगिरहने अम्लीय वर्षाले
हेर त तिम्रै छाती का…..ला
कति कमजोर बनिसकेछ
भो नरोऊ अब
फुकाल शीरको सेतो गम्छा, र
पुछ बगिरहेका यादहरू !

ऊ त्यो त…ल बगिरहेको अरुन किनारमा
अब तिमीले
ठिङ्ग उभिएको ढुङ्गामा योगमाया देख्न हुँदैन
अरुन नदीका सुसाईमा समानताका गीत सुन्नु हुँदैन
ती सबै भ्रम हुन्
अब कहिल्यै भेटिने छैन योगमाया अरुन किनारमा

अलि माथिको लोकतान्त्रिक चौतारी ढलिसकेछ
उभौली साकेला नाच्दैनाच्दै
उकाली चढेका सुम्निमाहरू भेटिदैनन् आजकल
उकाली चढ्ने र ओराली झर्नेहरूको मिलाप हुँदैन चौतारीमा
भेटिँदैन बिपी, र
बिपीले छाडेका
दुरदुरसम्म देख्न सक्ने दोषी चश्मा
बरु भेटिन्छ समाजवादी बोरामा लुकाएर नलुकेका
छरपष्ट सतिका फोसिलहरू
दासत्वका फोसिलहरू
जो वर्षौंदेखि मुक्ति मागिरहेछ ।