म, तिमीभन्दा पृथक् छु साथी
म हरपल अभिमान गर्छु मप्रति
म झुक्दिनँ कहिल्यै आफूसामु
म भाग्दिनँ कहिल्यै आफूदेखि
म लुक्दिनँ कहिल्यै आफूसँग
मैले अरूलाई होइन यहाँ
पहिले आफैँलाई जितेको छु

म उदाउँदो घाममा नि रमाउँछु
अस्ताउँदा गुनासो गर्दिनँ घामप्रति
सक्दिनँ म बस्न बन्द कोठाभित्र
साथी,म विशाल आकाशमा रमाउँछु
सक्दिनँ बग्न तिमी जता गए त्यतै
म त्यो स्थिर समुद्रमा रमाउँछु
म मेरै एकल विचारमा रमाउँछु

म कहिल्यै गर्दिनँ घृणा आफूलाई
म सदा स्वप्रेममा बाँधिएको छु
डर छैन अब केहीसँग मलाई
म गिद्धको हुलमा हुर्किएको छु
अघि बढ्छ मेरा पाइला गन्तव्यसम्म
साथी, खाली खुट्टा हिँड्न जानेको छु
हावा अनि हुरीलाई चिर्न जानेको छु

जल्दैन मेरो तन अनि मन असन्तुष्टमा
एक छाक खानामा बाँच्न जानेको छु
स्यालहरूसँग झुक्दिनँ म कहिल्यै पनि
साथी,सिंहसँग लड्न जानेको छु
सक्दिनँ यो जीवन त्यागबारे सोच्न
कयौँ अशक्तलाई जीवित देखेको छु
स्वयंको अस्तित्वको महत्त्व बुझेको छु
स्वयंको अस्तित्वको महत्त्व बुझेको छु… ।