म खोजिरहेछु त्यो मान्छे
जस्ले कठिन प्रश्नको सरल उत्तर दिन सकोस्
हरेक रात लखेटिरहने
हजार समस्याको एक समाधान दिन सकोस्

त्यसपछि मलाई कुनै प्रश्नले
कहिल्यै ऐँठन नगराओस्
मलाई भनोस् उस्ले
यी प्रश्नहरूको प्रतियोगिता सुरु गर्ने त्यो को हो ?

कठिन प्रश्नहरू छन् संसारमा
र मलाई जान्ने रहर छ
समयले पृथ्वी घुमाउँछ ?
कि पृथ्वी घुमेपछि बदलिन्छ समय
यो अँध्यारोलाई रङ दिने त्यो को हो ?
र उज्यालोको आविस्कारक कहाँ छ ?
घामको अनुहार कस्तो हुन्छ ?

हामी किन
दुःख निर्माणको प्रतियोगिता चलाइरहेछौँ ?
कोही त होस् विद्वान
जसले जानेको होस्
सीमा भित्रको मान्छेले किन नाघ्छ सीमा ?
रङ फेर्दाफेर्दै
किन छेपारोलाई औँला देखाउँछ ?
चार गज जमिनको भाग्यमा लिएर पनि
किन सिंगो भूगोल खरिद्न खोज्छ ?
सभ्य प्राणीले किन असभ्य प्रतियोगितामा भिड्छ ?

आखिर को हो यसको आयोजक
जस्ले मातृभूमिलाई दृष्टिबन्धक राख्ने
अविच्छिन्न प्रतिष्पर्धा चलाइरहेछ ?

नागरिकलाई मरुभूमिमा बेचेर
कहिलेसम्म कुर्नु एयरपोर्टमा काठका बाकसहरू ?
कहिलेसम्म हेर्नु हिमाल रोएर बाढीले बगाएका बस्तीहरू

कहिलेसम्म बेचिनु कानुनको धारा धारामा
कहिलेसम्म पेट्रोललाई शरीर निल्न दिनु
कहिलेमसम्म चन्द्रमाको दाग पखाल्ने प्रयास गर्नु ?

यी प्रश्नहरू
धन ठूलो कि विद्या
तरवार बलियो कि कलम
बल ठूलो बुद्धि भने जस्तो नहोस्

छिट्टै भेटियोस् त्यो मान्छे
जस्ले देशको स्वाभिमान हार्ने
प्रतियोगिता सधैँका लागि बन्द गर्न सकोस् ।

कोहलपुर