काँधमा
देश बोकेर हिँड्ने सबाल्टर्न
यो देशको मानचित्रमा कहाँ छन् ?
मालिकको
भोक, तिर्खा, निद्रा, सपना
सबै सबै पूरा गरिदिने रैतीहरू
यो देशको भूगोलमा कहाँ छन् ?

गाउँमा मुखियाले
सदियौंदेखि
जमिन लुटेकै छ
पसिना लुटेकै छ
उत्पादन लुटेकै छ
लुटिएकालाई कुटेकै छ
अनि अड्डा अदालतसम्म मिलाएर
आफ्ना कर्तुत छोपेकै छ
यो दशा देशको सक्कली प्रतिलिपि हो
मालिक र मुखियाबाट
हामी हाम्रै मात्र अधिनमा कहिले हुने ?
हजारौं आवाज बोल्ने योद्धाहरू
यो देशको सर्किटमा कहाँ छन् ?

के सबाल्टर्न बोल्न सक्छन् ?

अचेल गाउँतिर
लहलह धानका बाला झुल्दैनन्
पहेंला तोरीबारीमा माहुरी गीत गाउँदैनन्
नाभी गाडिएका मट्टीहरू मुक्तकण्ठले बक्दैनन्
बन्द छन् भंगेराहरूका चिरबिर चिरबिर संवादहरू
निमोठिएका छन् गर्भमै कोपिलाहरू
भाँचिएका छन् कलमहरू
टाँसिएका छन् दुःखका पोस्टरहरू
जतिसुकै विपत्तिमा परे पनि
अत्यासको आकाश खसे पनि
आँसु, पसिना, रगत, समय सबै चुपचाप चुपचापै त छन्

निरक्षर आमाहरूले
फाँटहरूमा मासिकस्रावका मसीहरूले कुँदेर
हाम्रो भाग्यका धर्साहरू कोर्दैकोर्दै
भोको पेटको आगो निभाएकै छन्
बच्चाहरुलाई कन्ठस्थ छ सुकरातले पिएको विष
युवाहरूलाई कुनै सङ्कोच छैन ठूटोजस्तै जल्न
कुण्डली हेरिरहेछ पेसेवर विद्वान्
सुसाइड नोट पढिरहेछ समय
ठिङ्ग उभिएका छन् एक्लाएक्लै मान्छेहरू
सपनाविहीन र शान्त

यो समयको सबै फेहरिस्त
म मेरो पुरानो घरको, फुसको छानोको प्वालबाट
नियालिरहेको छु
जहाँ म
च्यातिएको, मैलिएको, झुत्रिएको, जलेको लवेदाको
प्वाल हेरेर दिन बिताइरहेछु
त्यो त्यही प्वाल हो
जसलाई म आफैँले बनाएको हुँ
आफूबाट चोइटिएको जिन्दगीको एक कालखण्ड सम्झेर
जीवनरुपी एस्ट्रेमा फालिएका समयका ठुटाहरू घोटेर
जहाँ म निरीह छु
निःशब्द छु
जहाँ मैले गुमाउन बाँकी केही छैन

म यस्तो ऐतिहासिक बिन्दुमा बाँचिरहेको छु
जहाँ प्रश्नहरूको हत्या हुन्छ हत्याराहरूको जन्म हुन्छ र जन्महरूको जयजयकार हुन्छ
जसको कुनै ठोस प्रमाण पनि छैन
मेरो एक हातमा प्रेमप्रसादको सुसाइड नोट छ
र अर्को हातमा फगत भारी जीवनमोह
न धार छ न कुनै दिशा
म आफ्नै चिहान उधिन्न उभिएको छु
त्यो चिहान
जहाँ जमिनका कीराहरू दंगा फैलाउँछन्

तर अब म
मरेका दिनहरूको इतिहासले भोक मेट्ने छैन
त्यो मतिर आइरहेको मार्चमा सहभागी हुनेछु
र स्वतन्त्रताको गीत गाउनेछु ।