बनेर बुङ्गो शीर बेचिँदैछ
भएर ढुङ्गो मन बेचिँदैछ
गधा र गाई तुलना हरायो
आश्चर्यताको युग वैश्य आयो ।

ऐँचो र पैँचो थिति मेटियो है
बन्धुत्व शब्दै पर खेदियो है
संस्कार मीठा धनले चपायो
सद्भाव मास्दै युग वैश्य आयो ।

बिक्दैछ है शाश्वत पुज्य धर्म
हिँड्दैछ पूर्वी जय लाभ कर्म
भाषा कलामा धमिरो रमायो
आफू नचिन्ने युग वैश्य आयो ।

सदा उही नै पदको छ द्वन्द्व
चतुर्र भेदी छन् मूल मन्त्र
विकास भन्दै लुटतन्त्र छायो
निर्धो निमोठ्ने युग वैश्य आयो ।

झोसिन्छ बुक्रा दिलमा सलाई
खोज्छन् सबैले छ कता भलाई
आत्मीय डोरी धनले चपायो
आमा नमान्ने युग वैश्य आयो ।

आदर्शताको घर ढालिँदैछ
असभ्यतामा मल हालिँदैछ
साम्राज्य सारा धनले जमायो
पाखण्डताको युग वैश्य आयो ।