धेरै सोच्न पर्ने कुराहरू धेरै भयो
छुट्यो समय हातबाट- अबेर भयो, अबेरै भयो !
अपनत्वहीन आफन्त भनौदाहरू, फेरि पराइ भैकन पनि आफ्नैजस्ता लाग्नेहरू
अन्जान हिजो, आज अन्तरात्माको कण-कणमा छापिएर बस्नेहरू
अन्धकार भयो, जीवन अन्धकार भयो भन्दै गुनासो गर्नेहरू
अवसरको तलाउमा फाल हानी आफ्नो गोजी भर्नेहरू
मानव भएर मानवलाई नै कीरासरि गन्नेहरू, धेरै जान्नेहरू
पत्थरको मुर्तिलाई परमात्मा समान मान्नेहरू
थोरै जानेकै भरमा अँधेरोमा तीर हान्नेहरू
आस्थालाई बेवास्ता गर्दै कुकर्मको मार्ग छान्नेहरू
घमाइलो दिनमा समेत चकमन्न रात पार्नेहरू
भोलि गुमनाम हुँदैछ जे, त्यसैलाई सर्वस्व ठान्नेहरू
दर्जा भगवानको पाई विवश गरिबलाई उसैको घरतिर फाल्नेहरू !
बदलिरहेछ मानिस जमानासँगै, बदलिरहेछ मानिस जमानासँगै भन्नेहरू
थिचेर, मिचेर, किचेर, घिचेर, बेचेर स्वरूप अनि स्वभाव फेरेर अघाएँ नभन्नेहरू
बालुवा अनि माटोसँग भलाकुसारी गर्दै गिट्टीको रासमा यौवन गुमाई
सभ्य समाजको भद्र भेलामा केवल एक मूकदर्शक बन्नेहरू
वास्ता गर्नु म क-कसको बारेमा कतिन्जेल, किन अनि कसरी?
समस्याहरूको पहाडले श्वास मात्र बाँकी राखी थिचेको छ बेस्सरी
अबेरै भयो ~ अबेरै भयो ! गहिरो चिन्तन गर्ने, यथार्थको यकिन नै नभैकन पनि –
कल्पनामा डुबी मस्त-मगन हुने त्यो अबोध बालक कहाँ गयो ? खै कहाँ हरायो ?
सायद भेटिएला कि कुनै दिन साहित्यकारको कलममा
मिसिएला नि कुनै समय – दीनदुःखीको घाउ पुर्ने मल्हममा
जीवित अवस्थामै मृत्यु भोगे पश्चातको पुनर्जन्ममा
असल कर्ममा, बेसहाराको मर्ममा
अधर्मीहरूबाट संगठित धर्ममा, जीवन्त पर्वमा
सृष्टिको पहिलो कमल फुल्ने जगत जननी आमाको गर्भमा
सह्यो मानिसले एकै जीवनकालमा अनेकौँ दुःख-वेदना, पीडा अनि कष्ट !
चुम्यो शिखर उसैले, जसले पृथक् केही गर्यो, मन-मस्तिस्क बीचको द्वन्द्वमा बस्यो जो तटस्थ !
धेरै सोच्न पर्ने कुराहरू धेरै भयो
छुट्यो हातबाट – समय बितिगयो, विलम्ब भयो !
छुट्यो समय हातबाट- अबेर भयो ! लौ अबेरै भयो !



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२१ कार्तिक २०८२, शुक्रबार 







