
जाडोको दिनमा
अन्धकारले आफ्नो पालो सकेपछि
बल गरेर उज्यालोले आङ तान्छ
बरफले ढाकिएको प्रांगणमा
एकजोडी जुरेली झुल्किन्छन्
कता थिए ती यतिन्जेल
छक्क पर्छु
प्रांगणमा टांगिएको छ “बर्ड फीड”
दाना छ केही बचेको
जुरेली दम्पति यत्नसाथ झुलेका छन्
दाना झिक्न
एउटा तलबाट
अर्को माथिबाट
कस्तो होला भोकको आगोले
जन्माएको त्यो अधैर्य ?
यता झ्यालबाट पालेको बिरालोले
ऱ्याल काढ्दै,दाह्रा किटेको देख्छु
बाहिर देख्छ उस्को आहार
हिउँले जान सक्दैन
प्रयासका आ-आफ्नै व्याख्या हुन सक्छन्
चरीहरू भोकाएका छन्
बिरालोको आहारा खोज्ने जातै हो
यता कफीमेकरमा कफी तयार छ
एकै छिनपछि खाना पाक्छ
खाइन्छ
फेरि शुरू हुन्छ परिवर्तित दृश्य र
जुरेलीको भगिरथ प्रयास
आज त दाना थप्नु पर्छ
भोलि बिहान जुरेलीहरू फेरि झुम्मिन्छन्
झ्यालमा बसेर बिरालोले दाह्रा किट्छ
म कफी पिउँदै
नेपालको नाडी छाम्छु
भोलि फेरि घुम्न त नहोला कि ?
विश्मयको पहिलो प्रहरपछि
घाम त लाग्ला कि !
राजमित्र प्रांगण
माल्डेन,बोस्टन
अमेरिका
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

