शिशिरले नंग्याएको बूढो रुखको डालीमा
भर्खरै पालुवा पलाउँदै गरेको समय
हिउँको ओढ्ने फालेर
आङ तन्काउँदै गरेको पहाडमा
हरियाली उम्रिन लाग्दै गरेको बखत
एक दिन थियो
प्रतिप्रदाको रात
आधा-अधुरो सपनालाई
अबोध बिहानीको बार्दलीमा टाँगेर
बलिदानले छट्पटिरहेको सम्झना
आधा खाली ओछ्यानको बाटो हुँदै
यादले ओस्सिएको
ओशिलो मनको भित्तामा
तस्बिर बनेर टाँस्सिन आयो
सनाखत हुन बाँकी रहेको
अपरिचित छायाँसँगै
भित्रियो
बितिगएका वर्षहरूमा जस्तै
मेरो हराएको खुशी !
***********

मुस्कान शहीदको खुशी बाँड्दै हिँड्ने
यात्रामा-जात्रामा
हटिया मेलामा- सौतनी हेलामा
निजीकरण गरेको निजी जिन्दगीहरूमा
मन्दिर, चैत्य, गुरुद्वारदेखि गुम्बामा
रातको जुनेलीमा
अस्थिर अस्थायी मनको तरेलीमा
उदास साँझहरूमा
कचल्टेको सपनाहरूमा
विपत्तिले छोपेका विपनाहरूमा
बिना शर्त
बिना कारण
आउँथ्यो अनि जान्थ्यो
मेरो हराएको खुशी !
************

वर्षौँ भयो खुशीको तलासीमा
तक्दिरलाई तमासा बनाएर बाँचेको
कसैको बाडुली नबनेर
कसैको हालखबर सोधाइमा नपरेर
रित्तिदै-रित्तिनु बनेको छ मेरो नियति
घात र आघातको हुरीले
चरचर भएर चर्काएको छ छाति
कारण बिना टाढिएका छन्
थुप्रै अनगिन्ती साथी
देउता बिनाको मन्दिरजस्तै
झरी बिनाको हातमा बोकेको
छाताजस्तै
झर्दै-खस्दै, लड्दै-उठदै !
नसम्झिनेहरूको सम्झना बन्दै
आँशु बटुल्दै
उमङ्ग उधारो किस्ता-किस्तामा किन्दै
खोजी गर्दैछु
मेरो हराएको खुशी !

 

पाँचखाल, काभ्रे
हाल- लिमासोल,साइप्रस