हरेक प्रहर तिमी गोधुली बोकेर
सपनामा गुन्गुनाउँदै मेरा सामु
मीठा सपनाहरूमा मुस्कुराउँदै
मलाई झस्काउँथ्यौ र मजा थियो

हरेक बिहानी तिमी जीवन बोकेर
दिनभरिको योजना बुन्दै मेरा सामु
अनेकन आशाका भावहरू बुन्दै
जीवन सिँगार्थ्यौ र मजा थियो

हरेक साँझ तिमी क्रिया-प्रतिकृयामा
कहिले रिस त कहिले खुशी बोकेर
प्रश्नावलीका पहाड बोकिदिन्थ्यौ
जीवनमा उत्तर खोज्नुको मजा थियो

मेरा हरेक सपनाहरूमा मुस्कुराउँदै
आफ्ना प्रेमभावमा मलाई भुलाउँदै
मेरो जीवनगाथामा गीतहरू भर्दै
अनौठो अनुभूति दिन्थ्यौ र मजा थियो

विरूवा, भक्तपुर