
मलाई सुतिरहेको बेला
कहिलै न उठ्ने गरी सुतिरहन मन छ
अनि
मेरा पीडा र पीर
मेरा दुःख र चिन्ता
असह्य भएर आँसुका भेल बगाउने
यी आँखा
केवल नाङ्गो शरीरका लागि
अरूका अघिल्तिर मीठा मीठा शब्द
बोल्ने यी ओठ
म सँगसँगै
कहिल्यै न उठ्ने गरी सुत्ने छन्
मलाई चिन्ता हुने छैन भोलिको
मन पोल्ने छैन, अभावले
खानाको अभावमा पेट
छटपट गर्ने छैन
खाली खुट्टा भौतारिनु पर्ने छैन
कुरा काट्नेहरू सेलाउने छन्
मेरो दुःखमा रमाउनेहरू अझ नाच्ने छन्
निबेको चुलोमा आगोको झिल्का फुक्न
कसैका अघि
इज्जत लिलामी गर्नुपर्ने छैन
केही दुई चार बोरा
अभाव र झिना मसिना सपनाहरूले
एकाबिहानै ए उठ् उज्यालो भयो भन्दै
मेरो निद्रा हराम गर्ने छैनन्
खुसी खोज्न भौतारिनु पर्ने छैन
अभाव झेल्न रूनु पर्ने छैन
थोरै गाँसको लागि कसैको अघि
हात फिँजाउनु पर्ने छैन
बेथाको ठूलो भारीलाई
चित्कारको नाम्लो लगाएर
शीर दुखाउनु पर्ने छैन
लोभको भकारी मसँगै निदाउने छ
जलन ईर्ष्या डाहा सबै सकिने छ
केही थान शत्रुहरूका अनुहारमा
उज्यालो थपिने छ
मलाई घृणा गर्नेहरू
खुसीले नाच्न पाउने छन्
मलाई सुतिरहेको बेला
कहिल्यै नउठ्ने गरी सुतिरहन मन छ
राजन पराजुली
चितवन



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

