सपनाका महलहरू
गर्ल्याम्म ढलेर
हावामा बिलाएदेखि
म निस्सासिँदै
गन्तव्यको खोजीमा
यताउता भौतारिँदै गर्दा
लक्ष्य
चाहना
रहरहरू
आकाशबाट झरेका
असिनाजस्तै बिलाएर
नामेट भएछु

अस्तित्व खोज्दाखोज्दै
आफैं हराएर
रित्तिएछु
बोकेका हरेक
सपनाका भारीहरू
गोरेटो
गल्ली
घुम्ती
र मोडमा
चिप्लिएर
थकित हुँदै
मक्किएर चुँडिएछु

म हिँड्ने बाटोहरूमा
मेरा भन्नेहरूले
बत्ती निभाएर
काँडा बिछ्याइदिँदा
भावना र विचारहरूलाई
निरंकुशताको जन्जीरले
नफुत्किने गरी कसिदिँदा
मेरा गगनचुम्बी
सपनाका भर्याङ
दुई-चार खुड्किला
अचढाई भत्काइदिँदा
आज समयले
कात्रो ओढाएर
टाढा-टाढा आनन्त
चिहानसम्म पुगिसकेछु

यतिसम्म तल झरेछु कि
पत्तै भएन
उठ्न खोज्दा
आज आफैं
लड्न थालेछु
म बाँचेर पनि
आफ्नै लाशको
मलामी भइरहँदा
म आफू, आफैँ यहाँ
हर्षको उत्सब
मनाइरहेछु
म यतिसम्म थाकेछु कि
बेलुका सुतेर
बिहान उठ्नसमेत
भुल्न थालेछु

निस्सन्देह कयौं प्रहर
आफूले आफैँलाई
तिलान्जली दिँदै गर्दा
म मेरालागि
बाँचेकै थिइनँ
केवल सबैले
हुतिहाराको बिल्ला
भिराउने र छि ! छि !
दुर्दुर हुने डरले
आफूले आफैँलाई
बाँचेर मरेको मात्र हुँ
यतिसम्म थाकेछु कि
जीवनको मीठो
पल्लवीसमेत
खोसेर लगेदेखि
बाँचेर सास फेर्न
जतिको गार्‍हो
केही लाग्दैन अचेल
त्यसैले त हरेकपल
म आफ्नै लाशको
मलामी भएछु ।

महालक्ष्मी न.पा- ४, चानुवा, धनकुटा