यौटा काल बित्यो अस्ति कोरोना दुष्ट रोगको
निलेर हिँड्दथ्यो विश्व मान्छेलाई सताउँथ्यो
मान्छेको भीडमा पस्तै मान्छेभित्र अटाउँथ्यो
अचाक्ली तीब्र फैलेर त्रास ज्यादै बढाउँथ्यो ।
सिमाना देशले आफ्ना गरेथे बन्द तैपनि
सकेनन् छेक्न त्यो दुष्ट बाँकी रहेन क्यै पनि
चढी विमानमा हिँड्थ्यो, बाटो गल्ली बराबरी
हिँड्दथ्यो चाल मारेर स्वासभित्रै सराबरी ।
थियो यो त्रासमा विश्व मान्छे सन्त्रासमा थियो
अर्थतन्त्र थियो सून्य सुनसान बजार थ्यो
गजबार कसी बस्थे मान्छेको सत्रु मानव
बनेथ्यो पृथिवी कैदी कोरोना दुष्ट दानव ।
लियो ज्यान लियो सातो ह-यो प्राण समाजको
मरे बच्चा युवा पाका ग-यो घात अथाहको
अलमल्ल भयो विश्व ज्ञान विज्ञान लाटियो
अहो ! काटी तिनै कष्ट कसरी आज बाँचियो ?
छातीमा बरु त्यो गोली लागोस् हाँसेर मर्छु म
नलागोस् दुष्ट कोरोना सङ्कल्प नित्य गर्छु म
नआउन् विश्वमा फेरि हिजोका दुष्ट दुर्दिन
शान्तिको श्वास फेरेरै गरूँ प्राण समर्पण ।
(छन्दः अनुष्टुप्)
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।