म त हिउँदको अति जाडोमा
एकसरो लुगा लगाइरहेको छु
तिमी त आरामदायी वातानुकुलित
तापक्रममा मस्तीसँग बस्छौ रे

म त यस धर्तीमा जन्मेदेखि नै
आधा पेट मात्र खाइरहेको छु
तिमी त एक दिनमै धेरैपटक
छानी छानी मिठो मिठो खान्छौ रे

म त मेरो परिश्रमबाट आएको
पसिनाको कमाई खाइरहेको छु
तिमी त अरुको शोषण गरी गरी
बडो मोज मस्तीसँग खान्छौ रे

म त प्राकृतिक हावापानीमा
रमाई रमाई बसिरहेको छु
तिमी त बनावटी वातावरणमा
निस्सासिएर बस्ने गर्छौ रे

म त सबै मान्छे र प्राणीहरूलाई
समानरुपमा माया गरिरहेको छु
तिमी त यहाँका मान्छेहरूलाई पनि
मान्छेको रुपमा व्यवहार गर्दैनौ रे