प्रत्येक रातहरूमा जागा हिँड्ने
म टिपर हुँ
कुनै अस्तित्व छैन मेरो
शास्त्रले सृष्टिको एक हिस्सा मान्छ मलाई
सम्मानको साटो मैमाथि खेल्छन्
मानौँ म एक प्रयोगशाला हुँ भोकाहरूको
दिनभर अनुहार लुकाएर रातभर खुला
संसार दिएको छ सरकार अनि राजधानीले
त्यसैले त मैमाथि यात्रा गरी स्वर्ग पाउँछन्
कयौं भारी बोकाउनेहरू
तपाईं कार, ट्याक्सी, हेलिकप्टरझैँ
मलाई पनि इन्धन चाहिरहन्छ
त्यसैले त
एक पेटको लागि कयौँ रात
ओभरलोडले थिचिएर हिँड्न बाध्य छु

कहिलेकाहीँ पीडाले चिच्याउँछु भड्केको आत्मा सरी
तर कसले सुन्छ मेरो चित्कार
माध्यरात मान्छे हुँदै होइन
यो आत्माहरुको समय हो
कोही आत्मा मिठासमा सपनामय हुन्छ
कोही आत्मा बेचिदै विपनामा पिल्सिरहन्छ
अचेल टायर पन्चर भएर लङ्गडोझैँ भएको छ
फलाममा खिया लाग्न थालेको छ
ग्रिज,मोबिल कसले हाल्ने यहाँ
छ न त यहाँ हजारौं वर्कसप छ
मलाई स्वीकार्ने साहु छैन, ड्राइभर छैन, मिस्त्री छैन
आज घिस्रिदै हिँड्छु कठ्याङ्ग्रिदा रातहरूमा
अझै नसक्ने भारी बोक्न विवश छु
कुन दिन अर्द्धड्राइभर आएर भीरमा छोड्छ
अनि यहीँ मेरो अस्तित्व सकिनेछ
जुन दिन खुसी हुनेछन्
मेरा मालिक, कवाडी वाला
जुन दिन म हराएरको नाममा
मालिकले पाउनेछ नयाँ टिपर
कवाडीले भाँच्ने छन् मेरा अङ्गप्रत्यङ्ग
जहाँ फलाम नभएर म काठ हुनेछु ।

मण्डन देउपुर न.पा-०१,काभ्रे