
आफैँसँग संवाद गर्नुपर्छ
आफैँसँग विवाद गर्नुपर्छ
आफैँसँग बहस गर्नु पर्छ
अनि दुनियाँको अगाडि
उठ बस गर्नुपर्छ
अरे यार पागल हुन कहाँ सजिलो छ र !
मसानमा नाच्नु पर्छ
अवसानमा हाँस्नु पर्छ
शैतानलाई सत्कार गर्नुपर्छ
भगवानलाई दुत्कार गर्नुपर्छ
अरे यार पागल हुन कहाँ सजिलो छ र !
गरिबसँग माग्नु पर्छ
धनीसँग भाग्नु पर्छ
सज्जनलाई सताउनु पर्छ
दुर्जनलाई सघाउनु पर्छ
नाङ्गै हिँड्नु पर्छ
शरम त्याग्नु पर्छ
अरे यार पागल हुन कहाँ सजिलो छ र !
जून हेरेर
प्रेयसी सम्झी टोलाउनु पर्छ
मनको कुरा
मूर्तिलाई सुनाउनु पर्छ
दुनियाँलाई तमासा देखाउनु पर्छ
आफैँलाई चिथोरेर रमाउनु पर्छ
बगरै बगर बग्नु पर्छ
आफूले आफैँलाई ठग्नु पर्छ
अरे यार पागल हुन कहाँ सजिलो छ र !
बुगुल्टो निल्नु पर्छ
अगुल्टो ओकल्नु पर्छ
चेतनालाई च्यात्नु पर्छ
चिन्तालाई च्याप्नु पर्छ
जिउँदै मुर्दा बन्नु पर्छ
मुर्दा जसरी जिउनु पर्छ
अरे यार पागल हुन कहाँ सजिलो छ र !
जे गर्नु पर्छ
आफैँले जानेर गर्नु पर्छ
पागललाई कसैले शिक्षा दिँदैन
प्रशिक्षण गराउँदैन
पागलको कुनै सिद्धान्त छैन
दर्शन बनेको छैन
हरेक पागल अर्को पागलभन्दा फरक हुनुपर्छ
पागल त बिलकुल मौलिक हुनुपर्छ
अरे यार पागल हुन कहाँ सजिलो छ र !
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

