छुनछुन मंजुराको छनकार
घेल्टुङ्ग घेल्टुङ्ग ताल
ठुम्मु ठुम्मु कम्मर मर्काउने
झुमीझुमी मादल बजाउने
ऊः हेर्नुस्
महटान आँगन सुनसान छ ।
डेहुरार भित्रको खेखरी मैयाँ
पातामा बसेका जोग्या बभ्ना
मरुवामा रहेका भेंरुवा देउताहरूलाई
जल बुंडी नचढाएर
हो साँच्चै
महटान आँगन सुनसान छ
महटान बज्यै गोंरी बुन्न छाडिहालिन्
महटान बाजे छट्री बुन्न छडिहाले
मोर्हिन्याँ काकी सखिया गीत गाउन छाडिहालिन्
नचुन्याँ भौजीको हातबाट मंजुरा छुट्यो
हो आज
महटान आँगन सुनसान छ
भलमन्सा डाडु मादल बजाउन छाडे
घरको काम धन्दा हेर्ने कोई छैन
गाई, गोरू चराउने कोई छैन
बर्कान बाजे एक्लै
गर्दागर्दै थकित भै हाले
साँच्ची
महटान आँगन सुनसान छ ।
अँ मोर्हिन्याँ काकी
अँ नचुन्याँ भौजी
अनि मन्डरिया डाडु
सब्बै जान बाजे, बज्यै, दिदी बहिनी अब
फेरि गाउँ चैनार गर्नु छ
सखिया, झुम्रा, हुर्डुङ्वामा
पक्डोंइह पक्डोंइह मादल घन्काएर
झाल मंजुरा कस्टार छ्न्काएर
सबैलाई राहरंगित गराएर
गाउँघर आँगन चम्पन गराएर
हो
जागौं अब
किनकि
महटान आँगन सुनसान छ ।
कैलारी गाउँपालिका-८ डख्खिन टेंर्ही, कैलाली
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।