उनीहरू चार जना पनि शहीद
ऊ एक जना पनि शहीद
हिजो
उनीहरूलाई रुखमा झुन्ड्याएर
छातीमा गोली हानियो
आज
उसलाई सडकमा लखेटेर
शरीरमा आगो लगाइयो

चार शहीदको सपना
कता कता पूरा भयो
रातो टाउको र कालो टाउको
भएका कीराहरूको
शोषण अन्त्य भयो
बाँकीले खुब आशाको श्वास फेरे

तर
त्यो के हो
जसले आज पनि
देशको नाममा
देशबासीको गला निमोठिरहेछ
देशबासीको छाला काढिरहेछ

त्यो को हो
जसले जनयुद्धको नाममा
जनतालाई नै सास्ती पारिरहेछ
जसले झिल्के क्रान्तिको
चिरागरुपी ज्वाला लिएर
आम मानिसको झुपडीमा
दिनदहाडै आगो लगाइरहेछ

उनीहरूलाई
१०० वर्षपछि पनि सम्झिइन्छ
१०० वर्षपछि पनि शहीद गनिन्छ
१०० वर्षपछि पनि याद राखिन्छ
१०० वर्षपछि पनि नमन गरिन्छ
तर उसलाई
दुई दिनमै बिर्सिइन्छ
उसको समाचार
केही दिनमै सुस्ताउँछ

किन ?
किन यस्तो भेदभाव ?
चार शहीदलाई गोली हान्ने पनि
ऊ एक जनालाई आगो लाउने पनि
उही व्यवस्था नै होइन र ?
निरंकुशता नै होइन र ?
राज्यको बेमतलबी र असफलता नै होइन र ?

के फरक भो ?
ती चार शहीद र यी एक शहीदमा
गोली खाएर मर्नु र
आगोले पोलिएर मर्नु
आखिर मर्नु नै होइन र ?

त्यो को हो ?
जसले पटक पटक
नेपाल आमालाई
शहीद जन्माउन
बाध्य बनाइरहेछ
त्यो को हो ?
जसले पटक पटक
नेपालीलाई नेपालीमाथि नै
शोषण गर्ने
टिकट दिइरहेछ
त्यो को हो ?
जसले नेपालीको अवस्था
अस्तिभन्दा हिजो
र हिजोभन्दा आज
जीर्ण पारिरहेछ

त्यो को हो ?
जसले आम नेपालीलाई
आफ्नै वदनमा
विरोधको आगो सल्काउन
मुफ्तमा मट्टितेल बाँडिरहेछ

सलाम छ
हिजोका चार शहीदलाई
जसको नाममा शहीद दिवस बनेको छ
जसको काममा आजसम्म
खबर छापिएको छ
जसको शालिकमा आजसम्म
माला फेरिएको छ

सलाम छ
आजको एक शहीदलाई
लालसलाम छ !
अस्ति, हिजो र आजका
ती तमाम शहीदहरुलाई
जसको शहादत
सामाचारमा सुनाइँदैन
अखबारमा छापिदैन
जसको यादमा
शहीद दिवस मनाइँदैन
जसको सम्झनामा
इतिहासको वीरगाथा गाइँदैन

सहरको मध्यभागमा
आफैँले आफैँलाई आगो लगाई
ऊ हेर्दाहेर्दै शहीद भएको दृश्य
हेर्न नसकेर लेखेको हुँ
चार शहीदपछि
हजारौँ शहीद भैसक्दा पनि
आज फेरि एक नेपाली
शहीद भएको खबर
सुन्न नसकेर लेखेको हुँ
मरेर जल्न बरु सजिलो छ
जलेर मर्न निकै गाह्रो छ
मेरो प्यारो देशमा
राज्यको आँखामा कति कालो पट्टि बाँधिएको छ
निसाफको कानमा कति धेरै कपास कोचिएको छ
मगजहरूको मनमा कति भारी ढुंगा सजिएको छ
लगायत तमाम कुराहरू
बुझ्न नसकेर लेखेको हुँ
बुझ्न नसकेर लेखेको हुँ ।

मध्यपुर थिमि – ३, भक्तपुर