
माधव पोखरेल गोज्याङ्ग्रे
हामी उज्यालो खोज्दैछौँ दिउँसै बत्ती बालेर
रातमा बाल्नु पर्ने बत्ती हामी दिउँसै बाल्छौ
र अचेतहरूको चेत खुलाउने प्रयास गर्छौ
तर दिउँसो बालेको बत्ती दिउँसै हराउँछ
दिउँसो सूर्यको प्रकाशले दिएको उज्यालो
कालो भयो रे, अँध्यारो भयो रे
त्यसैले सूर्यको प्रकाशभन्दा पनि उज्यालो
खोजि गर्न दिउँसै लालटिन, मैनबत्ती, टुकी बालेर
हामी उज्यालो दिउसो खोजिरहेका छौँ
म दिउँसै बत्ती बालेर उज्यालो खोज्नेहरूलाई
प्रश्न गर्न चाहन्छु सूर्यको प्रकाशमा के कमी भयो र
दिउँसो नै बत्ती बालेर उज्यालो दिउसो खोजिएको हो ?
कि हामीलाई बिचार पिच्छेको दिउँसो वा उज्यालो चाहिन्छ ?
हाम्रो बिचारमा बादल लागेर दिमाग अँध्यारो भएर
हामीले दिउँसै उज्यालो खोजि गरेका त होइनौँ ?
हामी आफैँ अँध्यारो बिचार र दिमागले आफैँलाई हेर्दै
अरुलाई पनि त्यस्तै देख्छौँ र आफ्नो बह पोखेर
दिउँसोलाई रात सम्झेर दिउँसै शहर बजारमा
बत्ती बालेर दुनियाँलाई आफ्नो तुच्छ चर्तिकला देखाउँछौ
सबैलाई थाहा छ दिउँसो उज्यालो हुन्छ
राती अँध्यारो हुन्छ र बत्ती बालेर उज्यालो पारिन्छ
सूर्यको प्रकाशले सबैलाई उज्यालो दिएको छ
दिएको छैन त केवल असन्तुष्टिहरूलाई
मन वचन र कर्म फरक हुनेलाई मात्र हो दिउँसो रात देखिने
मन वचन र कर्म एउटै हुनेलाई दिउँसो छर्लङ छ
बत्ती बाल्नु पर्दैन कुनै अभिनय आवश्यक छैन
कुनै विद्रोहको छनक देखाउनु पर्दैन
दिउँसो सधैँ उज्यालो हुन्छ रात सधैँ अँध्यारो हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

