म हिँड्ने बाटामा किन समयकाे छैन समता
म बाँच्ने माटामा किन उदयकाे छैन ममता ?
म भन्ने मान्छेले किन प्रगतिकाे स्वाङ दिनु र
म टालौँ आस्थाले अझ कति यहाँ भ्वाङ हुनु र ?

नजान्ने भन्छौ रे सकल युगका ज्ञान नबुझी
म जान्ने बन्छौ रे सकस गहिरो प्राण नबुझी
कुरा बुझ्ने कल्ले असफल भयौँ आज यसरी !
बिथोल्ने मात्रै छन् सकल अगुवा थाम्नु कसरी ?

घडा भर्दै जान्छन् युग पुरुषले स्वार्थ नलिई
सुधा छर्दै जान्छन् सुमन वनका औषध लिई
कहाँ के भन्ने खै समय लयमा छैन बुझियाे
यहाँ के बन्ने खै अतिशय क्षुधा लिन्छ बुझियाे !!

कुरा गर्छन् राम्रा तर नियतिमा खाेट छ अति
भयौँ भन्छन् हाम्रा अवसर लिने माेह छ अति
छ नेपाली न्यानो मृदुल ममता दिव्य पनकाे
अडेका छन् आँखा नजर खिरिलाे खै नयनकाे !!

सुनेका छौँ भाका मधुर लयका सुन्दर पनि
बनेका छौँ जागा प्रगति पथमा संयम बनी
बनौँ त्यागी मान्छे छलकपटकाे छैन हृदय
लिएका छौँ बाटो सगरतिरकाे हुन्छ विजय ।।

छन्द : शिखरिणी