म लेखिएकी छु
यस्तरी
जसरी समुद्र किनारकाे
बालुवामा काेरिन्छ

तर एक्कैछिनमा
समुद्रकाे मझदारमा
फिजसँगै सलबलाइरहेको पानीको लहर
छचल्किदै किनारासम्म आउँछ
र मलाई मेटाएर जान्छ
सदासदाका लागि
म बिलाउँछु
यी बालुवाहरूसँगै कतै
मेरो यो नामको नामो निशान पनि रहँदैन
ठ्याक्कै यस्तै हुन्छ जिन्दगीमा पनि
कोरा अक्षरहरूमा
मैले कति लेखिइरहेकी हुन्छ जिन्दगी
तिमीले पढिरहेका हुन्छाै त्यहाँ कतै
आफ्नै शब्दहरूमा / अक्षरहरूमा
भनुँ, फरक फरक शैलीमा
तर अकस्मात यौटा ठूलो छाल आउँछ /आँधी आउँछ जिन्दगीमा
अनि त्यो छालसँगै / आँधीसँगै
सबै सबै बगेर जान्छ
एक युगका तिम्रा रुमानी यादहरूमा
मेरा अधुरा इच्छाहरू
अपूरा आकांक्षाहरू
अहंकारहरू
सबै सबै यो किनारामा कोरिएको नामझैं
बिलाएर जान्छन् / मेटिएर जान्छन्
सधैँका लागि
तर पनि यो छाल
यो समुद्र, यो समुद्री तट
यी गाउँबस्ती, वनजंगल
खाेलानाला/सानाे शान्तिपुर बजार
अनि यो गल्ली वारपार गर्ने यी अजनबी मान्छेहरू
अनि मैले तिम्रालागि लेखेका केही शब्दहरू…
र मैले छोडेको यो संसार
रहिरहन्छ यथावत् यसरी नै
यो पृथिवी रहेसम्म
बस् रहदिनँ त केवल म
मात्र म रहन्नँ यो दुनियाँमा
बाँकी सबै सबै रहन्छन् यसरी नै ।

 

चन्द्रकोट-५ गुल्मी