आज मात्रै होइन
सदियौंदेखि मर्दैछन् प्रेमहरू
कहिले बोल्न नपाएर मर्छन् प्रेमहरू
त बोल्न सके आवाज बन्न नपाएर मर्दैछन्

प्रेम भूइँमा होइन
भूइँमुन्तिर माटोभित्र बाँच्न खोज्छ
जरा भएर देशको

प्रेमलाई टेकेर ठिङ्ग उभिन्छ देश
पाइला सार्छ
अनि अनवरत यात्रामा लम्किन्छ देश

घाँटीमा टाई झुन्ड्याई
दम्भले उभिएका
काण्ड, पात र फूलहरू देशका
जराले सोसेको कर खाएर
जरालाई नै शोषण गर्दै
बाँचिरहेछ इतिहासमा
भूगोलमा
समाजमा
अनि शोषित प्रेमहरू
जति जति गाडिन्छन् माटोमुनि
उति उति बढ्छ उचाई देशको

तर नि कविज्यू !
उँचो उचाई भएका रुखहरू
जब हल्लिन्छ्न् नि
आँधी आउँछ यहाँ
हुरी बतास आउँछ यहाँ
अनि झर्न थाल्छन् ती पातहरू
भाँचिन थाल्छन् ती काण्डहरू
आफैँ ढल्न थाल्छन् ती रुखहरू
रहन्छन् त केवल
माटोमुनि दबिएका प्रेमहरू
तर माटोमुनिका प्रेमहरू सल्बलाए
भूकम्प आउँछ यहाँ
अनि फेरि ढल्छ्न् उही रुखहरू
गर्ल्याम्मै भूइँमा
रहन्छन् त केवल
माटोमुनि दबिएका प्रेमहरू
जहाँबाट पलाउनेछ
नयाँ मुना नयाँ व्यवस्थाको
नयाँ समाजको
नयाँ देशको

त्यसैले त कविज्यू
तिमीले देखेका मर्दै गरेका प्रेमहरू
भ्रम हुन्
तिमीले लेखेका प्रेमको मृत्युहरू
भ्रम हुन्
प्रेम त अजर छ
अमर छ
प्रेमको मृत्युहरूमा तिम्रो मृत्यु छ
तिम्रो कविताको मृत्यु छ ।