
पूर्णेको रातमा
आकासमा मुस्कुराइरहेको जून हेरेर
एक जना प्रेमीले अफ्नो प्रेमिकालाई जूनको उपमा दिन्छ
चुम्बन लिन्छ
दिन्छ
छेउमा उभिरहेको एउटा कुकुरलाई पनि त्यतिखेर
मानिसको जुनीसित लोभ लागेर आउँछ
अलिक माथि डाँडामा गएर हेर्दा
त्यसलाई जून अझै राम्रो लाग्छ
एकप्रकारले चित्त दुखेर आउँछ
र
आकासतिर मुन्टो बटारेर भुकिरहन्छ
रातभरि जूनलाई सोधिरहन्छ
“के तिमीले मेरो लुतोमा मलम लगाउन सक्छौ ?
निको पार्न सक्छौ ?”
भोलि बिहानीपख अफूभित्र एउटा घमण्ड जागेर आउँछ—
युद्ध पूरा नभई जून आकाशबाट ओझेल भएको भ्रममा
बिहानीको कठ्याङ्ग्रिने जाडोमा पनि त्यसलाई
आफ्नो लुतो चिलाएको नै तातो लाग्छ
जति कन्यायो उति चिलाउने
सन्चो र आनन्दको सीमा नै छैन
तर त्यसरी कनाउँदा-कनाउँदै
त्यसलाई एकप्रकारको रिस उठेर आउँछ
र
त्यहाँबाट फटाफट गल्लीमा गएर
एउटा दिशा बस्न निस्किएको कुकुरलाई आक्रमण गर्छ
त्यसको मालिकलाई चेतावनी दिन्छ
“अबदेखि तिमीले आकासमा जून कहिल्यै नहेर्नु
आफ्नो प्रेमिकालाई चुम्बन पनि नगर्नु
तिम्रो जून
आज बिहान मसित हारेको छ
अनि तिम्रो विदेशी टमीले
अबदेखि मलाई तिम्रो घरको ढोकाबाट नभुकोस् ।”
फेरि
कुनै एउटा रात
जून आकाशमा आधा भएर आएको छ
जून टुक्रिएर आधा कतै झरेछ भन्ने अनुमानमा
त्यो डाँडाबाट ओरालै-ओरालो लग्छ
अन्त्यमा एउटा बेथेस्डाको पोखरीमा आइपुगेर ठप्प रोकिन्छ
पक्रनलाई पानीमा कयौँपल्ट हामफाल्छ
तर सक्दैन
बिहान पुन: उकालै-उकालो फर्किन्छ—
जूनलाई डाँडाबाट ललकार्नलाई
अबदेखि त्यसरी छल नगर्नु भन्नलाई
तर फेरि अर्को रात
जून अझै टुक्रिएर आकाशबाट त्यसलाई नै जिस्काइरहेछ
त्यो रातभरि डाँडामा चुइँकिँदै, मुरमुरिँदै अनि भुक्दै
एउटा अतृप्त आक्रोश देखाइरहन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...
