गिदीको गमलामा गाडिदेऊ
बीउ विषालु विचारका
नियाल झिंगाहरूको सम्भोग
गन लाम्खुट्टेका अण्डाहरू
टोक तिमी आफ्नै गर्दन
बौलाहा कुकुरलेझैँ ।

भाँसिदै जाऊ
आफू उम्रेकै माटोमा
निसासिँदै
जाऊ ?
आऊ
काँटी ठोकिदेऊ
निधारमा मेरो
र झुण्डाइदेऊ उपहार
पूरानो भित्तेघडी
म सुईहरूको टिकटिकमा
लठ्ठिएर
समय बिताइदिन्छु
जिन्दगी बिताइदिन्छु

मेरा निर्णयहरू
या
मैले लिएका निर्णयहरू
जिन्दगी के यत्ती हो र ?

आउ नजिकै त फेरि
लिपिदिन्छु म हलुका हातले
तिम्रो योनीमा
मेरो आँगनको रातो माटोले
मेरो गाउँमा विहानै
ढोका लिप्ने चलन छ

जाऊ बरू
वनवास तिमी
यहाँ तिम्रो सट्टा पनि
म पाप गरिदिन्छु
यो मृत्यु अघिको
वैतरिणी
म एक्लै एक्लै तरिदिन्छु
रुद्रको अक्ष घाँटीमा मेरो
भय कुन कालको अब गरौँ ?
मोहबाट क्षय हरक्षण म
किन व्यर्थ मोक्षको कामना गरौँ ?