हाम्रा प्रभुको चित्त असल
हाम्रा प्रभुको नियत असल
असली दूधको कुण्ड पसेर
नित्य नुहाउने प्रभु असल
कमण्डलु लिई गङ्गाजलको
स्वस्ती गर्दछौं हाम्रा प्रभुको
बमबम भोले बमबम शङ्कर
प्रभुले रक्षा गरेको चराचर ।

प्रभु पाउमा मन मुटु चढाई
बुद्धि बिवेक स्वभिमान चढाई
चरण जल शीरमा सिँचन गर्छौँ
मर्जी होस् प्रभु ईज्जत अर्पण गर्छौं
औंसी रातमा जुन छ भन्नुस्
आहा कस्तो टहटह भन्छौँ
देख्दिन अरे ! त्यहीँ छ त भन्छौ
हेर्न जानेनौ, चस्मा फेर त भन्छौ
नदेखिए नी जुन छन त छ नि भन्छौ
एक एक असुरलाई ठीक पार्छौँ

ज्ञान प्रभुबाट सुरू हुन्छ
विज्ञान प्रभुमा समाप्त हुन्छ
ज्ञान सुन्छौँ, ताली ठोक्छौँ
विज्ञान सुन्छौँ, सही हो भन्छौँ
कल्पनासम्म त गर यार ! भन्छौँ
सपनासम्म त देख यार ! भन्छौँ
तिमीले बुझेनौ, दिमाग लगाउ भन्छौँ ।

ए ! कल्पना लोकका सृष्टिकर्ता
ए ! सपना लोकका पालनकर्ता
करुणाको त्यो नजर उठाऊ
भक्तको जिन्दगी सफल बनाऊ
मनबान्छित फल देऊ, हे ! त्रिगुणस्वामी
अन्न, धन, मान देऊ, सदा दुखियारी हामी

कैलाशपति महादेवको जय !