भूमिका खनाल

भूमिका खनाल

रहरको वैंश सकिएपछि
तिमी फर्कन्छौ होला
तिम्रो यादमा
तिम्रो प्रतीक्षामा रहेका मेरा सजल नयनलाई
मेरो रातको सिरानीले जति कसले निहाल्यो होला

प्रत्येक दिन आउने ती सम्झनाका उच्छ्वासहरूलाई
म आफैँले जति कसले सुन्यो होला !

शीतको थोपाझैँ केही क्षणमा बिलाउने
ती भावनाका छालहरूसँग
मैले जति पौडी कसले खेल्यो होला !

दूरता र निकटता बीचको
भावनात्मक संवेगका परिघटनाहरूलाई
मैले जति कसले महसुस कसले गर्‍यो होला !

तिमी कल्पना गर्न सक्छौ ?
सुवास सकिएको फूल
अनि वैंश रित्तिएकी नारी !

थाहा छ मलाई
तिमी पनि बाध्यताको
मैलो झोला बोकेर
परदेशिएका छौ
मन मुटुभरि परिवार अटाएका छौ
मन नलागी नलागी पनि
पराइ माटोमा पसिनाका
थोपा खसाएका छौ
तर खै किन किन मान्दैन यो मन
किन यो आँखा सधैं रसाउनु पर्छ
दिन उज्यालो हुँदा पनि
किन मन उज्यालो बन्न सक्दैन ! परदेशी

गर्भमै मायाको निशानी छोडेर हिँडेको तिमी
सन्तानले संसार देखिसक्दा पनि
खै किन, तिमीले सन्तान देख्न पाएका
छैनौ ?? कसलाई सोधौँ यो प्रश्नको जवाफ ?
कसले दिन सक्छ
मेरो प्रश्नको सही जवाफ
कोही त बताऊ ?
कहिलेसम्म तिमी, हामी
ऊ र उनीहरू परदेशिनु पर्ने ?
बिछोडिनु पर्ने परदेशी ?

 

सुन्दरहरैँचा – ९, मोरङ