
बाडुलि कविताको फिचर तस्बिर

आशिष लिम्बू
गाउँलाई अचानक बाडुली लागेको दिन
सायद सम्झेको हुदो हो
आसुको थोपा झार्दै गाउँ छोडेर परदेश हिडेकी
कुनै गाउँकी छोरीले
जो अहिले मारि रहेकी छिन्
दिनको दिन एउटा एउटा सपना।
सायद पठाको हुदो हो सम्झना
भखर डिउटी सकेर खाना खादै गरेको
कुनै सहरको होटलमा काम गर्ने छोराले
जसको अंगालोमा छ अहिले अनिकालको हुरीबतास।
या त सम्झेको हुदो हो
सिमानामा मरिसकेको कुनै लाहुरेको जिउदो आत्माले
देउरालीमा पाती चढाएर थुप्रै थुप्रै भाकल गरेर
सिमानाको रक्षा गर्नु हिडेको
जो कहिले गाउँ फर्केनन् फेरि
कुनै साँझ
गाउँलाई अचानक बाडुली लागेको बेला
सम्झेको हुदो हो
चौतारीमा बसेर अनेकौं कसम खाएर पनि
जो कहिले एकअर्काको लागि भएनन्
छुटी सकेको कुनै प्रेमिल जोडीले
एतिबेला देब्रे छातीमा हात राखेर
मन भित्र भित्रै लेख्दै मेटाउँदै लेख्दै मेटाउँदै होला
अनेक अनेक बिछोडको कबिता
सायद सम्झेको हुदो हो
गाउँकै बाटो हिड्दै हिड्दै गएको
एउटा यात्रीले
जसले बिर्सेको होला भन्ज्याङमा फुलबुट्टे रूमाल
सम्झ्यो होला
पधेरीमा पानी भर्ने साइली दिदीले
गएको थियो कुनै दिन रूदै रुदै
आफ्नै माइती गाउँ छोडेर
मलाई लाग्छ
सायद आज राती पनि
बाडुली खेल्दै खेल्दै निदाउछ होला गाउँ
किन कि यो समय
मेरो मुटुमा बेस्सरी उर्लिएको छ
गाउँ सम्झेर सम्झनाका छालहरू।
-कालेबुङ



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

