
सालैको पातैमा,
लगे जान्थे मायाको साथ साथैमा….!
यिनै गीतसँगै
बुट्यानहरूमा
चराको आवाज
चुराको संगीत
आमाको मधुर स्वर
पानीघट्टको मदानीसँगै घुमेको
बेफुर्सद समय
बारी र खेतका गराहरूमा
छुटेका पसिनाको गन्ध
बुबाको त्यो प्रिय नाम
सबै सधैँका लागि छुट्यो ।
हरेक प्रहर माथमा रहने हात
जीवनमा आनन्दको साथ
सबैसबै धुँवा बनेर उड्यो
मिठो र सुन्दर स्मृतिको बगैँचामा
खै ! कसले कसरी बिथोलिदियो आज
सबै भन्दा प्रिय मधुर संगीत
संसारकै प्रिय र सुन्दर मेरी आमाको साथ
सबै सधैँका लागि छुट्यो ।
बलेसीमा तपतप झरेका
पानीका संगीत
मिर्मिरे उज्यालोसँगै
उघ्रेका आमाका दुःख
कुन पहाडले थिचेको होला ?
हामीले ती दुःखका पहाड
छिचोल्न नसक्दै
छुट्यो आमाको संगीत
आर्यघाटबाट ।
जिम्मेवारीको बोझले
थिचेका आमाका इच्छापत्रहरू
धुवाँको सिँढीमार्फत
उडे आगोको संगीत लिएर ।
जीवनको अन्तिम विश्राममा
दुःखका भारी बिसाएर
दाउराको ओछ्यानमा
आगोको संगीत सुनेर
धुवाँको सिँढी चढ्दै
आमा परमधामको मार्गमा
हिँड्नु भयो
हामी
निरीह बनेर
टुलुटुलु हेरिरह्यौँ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...

सम्मान र पुरस्कार आदान-प्रदानकाे होडबाजीले साहित्यलाई पारेकाे असरबारे चिन्तित छु
