सुनिता प्रतिबिम्ब

दुश्मनसामु
कहिल्यै झुकेन तिम्रो शीर
कुनै बाधा अवरोधले
रोक्न सकेन तिम्रो यात्रा
रक्तछर्राले
तिम्रो देह छियाछिया हुँदा पनि
अहँ ! डगमगाएन तिम्रो देशभक्ति
अन्तिम श्वास चल्दासम्म
लडिरह्यौ निडरताका साथ
परिवर्तनको बिगुल फुक्दै
तिम्रा पाइला अघि बढिरहे
तिम्रै रगतले
देशको माटो भिज्यो
खेतका गरा भरिए
भरिँदै थियो परिवर्तनको बगान पनि
जब मोड आयो परिवर्तनको
ठीक त्यति नै बेला
तिमी शहीद बन्यौ ।

हो
तिमी अमर भयौ
तर बिडम्बना
देशका लागि, माटोका लागि
तिमीले गरेको त्याग र बलिदानले पनि
फेरिएको छैन देश
पूरा भएन तिमीले देखेका सपना
बन्न सकेन तिमीले देखाएको बाटो सुन्दर
उस्तै छ देशको अवस्था
उसैगरी छ तिम्रो शालिकमा माला
शहीदको बलिदानको नाममा
एक मिनेटको मौनधारण गर्दै
गरिने देखावटीले
उस्तै दलाली खेतीले
तिम्रा सपनाका गराहरूमा
सिँचाइ गर्ने उत्कट चाहना भने मरेको छैन
मेरो शहीद ।

बुटवल