कवि परिचयः

दुर्गालाल श्रेष्ठ

जनकवि दुर्गालाल श्रेष्ठ — एघारै वर्षको उमेरमा पूर्णांकी नाटक लेखेर सफल प्रदर्शन गरी हाल नब्बे वर्ष पुग्न लाग्दा पनि निरन्तर लेखिरहने वर्तमान युगकै महान् कवि हुन् । नेपालभाषा र नेपालीभाषामा उनका छ दर्जनभन्दा बढी पुस्तक प्रकाशित भइसकेका छन् । प्रेमभावका कवितादेखि आध्यात्मिक भावका कविता लेख्ने उनी भाषिक–जातीय आन्दोलनलाई अगुवाइ गर्ने गीत–कविताका तीक्ष्ण सर्जक हुन् । मूलतः नेपालभाषाका कवि दुर्गालाल श्रेष्ठले दुई पटक श्रेष्ठ सिरपाः पुरस्कार प्राप्त गरिसकेका छन् । नेपाली साहित्यमा पनि अनेकौं पुरस्कारबाट सुशोभित उनी जनतामाझ जनकवि भनी चिनिन्छन् ।

यो कविता २०४७ बैशाख महिनामा २०४६ का शहीद सम्झेर लेखिएको हो । इन्कालाबया पलाः सः (इन्कालाबको पदचाप) कविता सङ्ग्रहबाट लिइएको यो कविताको अनुवाद चित्तरञ्जन नेपालीबाट भएको हो । मूल नेपालभाषामा वार्णिक (प्रमाणिका) छन्द रहेको यो कविता अनुवाद मात्रिक छन्दमा भएको छ ।

 

शहीद

दुर्गालाल श्रेष्ठ

समय–नदीमा आकल–झुकल
यौटा यस्तो बग्छ मुहूर्त
पर्नासाथै आँखा जसमा
बल्दछ यौटा ज्योति विचित्र

आमा देख्छ न देख्दछ बाबु
कलत्र–पुत्र कुनै देख्दैन
नदेख्नुको पनि यति हद हुन्छ
आफैकन पनि ऊ देख्दैन

त्यो बेला उफ् ! त्यो क्षण क्षीण
क्षणिक सही तर अति नै तीक्ष्ण
जसमा उसले देख्छ राष्ट्रको
घाँटीको त्यो सिक्री मात्र

वाण सदृश धनुबाट छुटेको
तत्काल स्वयं होमिन पुग्छ
भई पराजित बन्दुक झुक्छ
‘मुक्ति’ भित्र ऊ हाँसिरहन्छ ।